काठमाडौं । अकुत सम्पत्ति कमाएको आरोपमा विशेष अदालतले १०० करोड रुपैयाँ र जेल सजायँ सुनाइएकी भारतको कर्नाटक राज्यकी मुख्यमन्त्री जयललिताले ११३ करोड भारतीय रुपैयाँ बराबरको सम्पत्ति छाडेर यो संचारबाट विदा लिएकी छिन् । तर उनको यो सम्पत्ति अब कसले पाउने भन्ने कुरा भने अन्योलमा परेको छ । उनका कुनै उत्तराधिकारी नभएकाले भारतमा यो विषय चासोको विषय बनिरहेको छ ।
६८ वर्षको उमेरमा जयललिताको अचानक निधन भएपछि उनले आफ्नो सम्पत्ति कसका लागि ईच्छाएकी छिन् भन्ने खोजी सुरु भएको छ । अहिलेसम्म उनको सम्पत्तिमाथि कसैले दावी गरेको छैन । कानुनी रुपले पनि उनको केही वारेस भएको पत्ता लागेको छैन ।
केके छ सम्पत्ति ?
सन् २०१६ को विधान सभा चुनावको दौरानमा उनको सम्पत्ति ११३ करोड थियो । उनले भरेको सम्पत्ति विवरणमा ११३ करोड बराबरको सम्पत्ति रहे पनि चल सम्पत्तिका रुपमा जम्मा ४१ हजार रुपैयाँ नगद रहेको उनले उल्लेख गरेकी थिइन् ।
उनका २५ बैंक खाता छन् । जसमध्ये सात वटा खातामा एक एक करोडका दरले रकम रहेको जनाइएको छ ।
उनीसँग २१ किलो सुन र १२ सय ५० किलोग्राम चाँदीका गहना थिए ।
जयललिताको निजी निवास पोएस गार्डेनमा थियो । जुन २४ हजार वर्गफिटमा फैलिएको थियो । यो निवासको मात्रै ४४ करोड रुपैयाँ मूल्यको रहेको बिबिसीले जनाएको छ ।
यो घरबाहेक जयललिताको सम्पत्ति चार वटा व्यवसायिक भवनमा पनि थियो । यी भवनको कुल रकम १३ करोडभन्दा बढी भएको जनाइएको छ । तेलंगनामा उनको १५ एकड जमिनको प्लट पनि थियो । तामिलनाडुमा चार एकडको अर्को प्लट पनि उनीसँग थियो । सबै अचल सम्पत्ति गरी उनीसँग ७२ करोड भएको अनुमान गरिएको छ । चल र अचल सम्पत्ति गरी उनले ११३ करोड छाडेर गएको र त्यसको हकवाला को निस्कने हो चासोको विषय बनिरहेको छ ।
उनलाई २०१४ मा विशेष अदालतले भ्रष्ट्राचारको सजायँ सुनाए पनि सन २०१५ मा कर्नाटक उच्च अदालतले सफाइ दिएको थियो । जयललितामाथि भ्रष्ट्राचारको छानविन गर्ने क्रममा प्रहरीले छापा मार्दा २८ किलो सुन, ८०० किलो चाँदी, ७५० जोर जुत्ता, १०, ५०० थान साडी, ९१ थान घडी र ४१ थान एयर कन्डिसनर भेटिएको थियो । जबकी उनी १९९१ देखि पाँच वर्षसम्म मुख्य मन्त्री बन्दा महिनाको एक रुपैयाँ मात्र तलब लिएकी थिइन् ।
एजेन्सीको सहयोगमा












