प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने बताएका छन् । दाङको देउखुरी पुगेका प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री रहँदासम्म यो संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने र संसदीय प्रक्रियाभित्रै रहेर परिमार्जन हुनसक्ने बताएका हुन् ।
एमालेले तयार पारेको संशोधन प्रस्तावमा आफूले थोरै थपघट गरेर संशोधन प्रस्ताव ल्याएको भन्दै उनले एमालेले प्रस्तावको गलत प्रचार गरेको दावी गरे । उनले संविधान संशोधनको विरोधमा आन्दोलनरत दललाई आन्दोलन छाडेर सहमतिमा आउन अपिल समेत गरे । अहिले आन्दोलनरत एमालेले गल्ती गरिरहेको र उसले छिट्टै गल्ती महसुस गर्ने दावी समेत प्रधानमन्त्रीले गरे । सरकारले हिमाल पहाड–तराई जोडेर राष्ट्रिय एकता मजबुत गराउन खोजेको रहेछ, तर हामीले त विखण्डन पो गर्न खोजेका रहेछौंँ भनेर एमालेले केही समयपछि गल्ती महसुस गर्ने तर्क उहाँले गर्नुभयो ।प्रधानमन्त्री प्रचण्डले दाङको राप्ती नदीमा सिसहनिया महदेवा जोड्ने पुलको शिलान्यास गर्दै दाङको विकासमा आफू कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
माओवादीले दाङलाई केन्द्रमा राखेर विगतका दिनदेखि नै आफ्ना गतिविधि बढाएको स्मरण गराउँदै प्रधानमन्त्री प्रचण्डले दाङको विकासका लागि लमही–कोइलावास सडकको स्तरोन्नति आवश्यक रहेको बताए ।
भारत भ्रमणको बेला आफूले नेपालको हुलाकी मार्ग निर्माणका लागि सहयोग सम्झौता गरेको भन्दै उनले आफ्नै शासनकालमा लमही–कोइलाबास सडकको स्तरोन्नती हुने आश्वासन दिए ।












