२१ मंसिर, काठमाडौं । जारी भएको संविधान नमान्ने र संशोधन प्रस्तावलाई पनि अस्वीकार गर्ने उपेन्द्र यादवको हठका कारण उनको पार्टीमा पहिरो जाने क्रम बढ्दै गएको छ । जारी संविधानलाई यादवले निरन्तर अस्वीकार गरेको भन्दै नौ जना केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन् । यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका केन्द्रीय नेताहरुले पार्टी परित्याग गरेको यो दोस्रो श्रृंखला हो ।
यसअघि केन्द्रीय नेताहरु रिजवान अन्सारी, वीरबहादुर लामा, विजय सुब्बा लगायतका नेताहरुले पार्टी परित्याग गरेका थिए । हाल भने पाँच केन्द्रीय सदस्य र चार वैकल्पिक केन्द्रीय सदस्यहरुले एक साथ पार्टीबाट राजीनामा दिएका छन् । हाल केन्द्रीय सदस्यहरु वीरेन्द्रबहादुर बोगटी, मानबहादुर धामी, बलवीर नेपाली, ओमकृष्ण प्रसाई तथा वैकल्पिक केन्द्रीय सदस्यहरु हेमन्त मान्डव्य, राजेन्द्र खनाल, प्रकाश अधिकारी र शंकर रोका मगरले फोरम नेपाल त्यागेका हुन् ।
संविधानसभाबाट जारी संविधान स्वीकार गरेर जाने र संविधान नै अस्वीकार गर्ने द्वन्द्वका कारण आफूहरुले संघीय समाजवादी पार्टी परित्याग गरेको उनीहरुले बताएका छन् । संविधानको उपलब्धिलाई रक्षा गरेर अघि बढ्न पार्टी नेतृत्व नमानेका कारण सोपार्टीसँग आफूहरुको सहकार्य हुन नसक्ने ठहर आफूहरुले गरेको उनीहरुले बताए । तर, अहिले नै कुन पार्टीमा जाने भन्ने विषयमा उनीहरुले निर्णय नगरेको समेत जनाइएको छ ।
डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग यादवको संघीय समाजवादी एकीकरण गर्ने र मधेसका अन्य दुई पार्टी रामसपा र तमसापा पनि मिलाउने गृहकार्य भैरहेका वेला यादवको पार्टीमा उल्टै पहिरो गएको हो ।
मधेसी दलको असन्तुष्टिको सम्बोधनका लागि सरकारले संसदमा दर्ता गराएको संशोधन प्रस्तावप्रति अन्य मधेसी दलहरु सकारात्मक देखिए पनि उपेन्द्र यादव भने विरोधमै छन् ।












