२० मंसिर, काठमाडौं । नेकपा एमालेले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई आग्रह गरेको छ । सोमबार अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले छिमेकीबाट नेपालको मामिलामा हस्तक्षेप भएको ठहर गर्दै त्यसो गर्न औपचारिक विज्ञप्तीमार्फत आग्रह गरेको हो । भारत वा चीन कुनै पनि देशको नाम उल्लेख नगरी एमालेले भारतलाई लक्षित गर्दै औपचारिक विज्ञप्ती जारी गरेको हो । संविधान संशोधन विधेयक राष्ट्रघाती एवं बाहृय शक्तिको इसारामा आएको भन्दै त्यसलाई असफल बनाउन संघर्षलाई अझ कडा बनाउने निर्णय समेत एमालेले गरेको छ ।
५ नम्बर प्रदेशमा चलिरहेको आन्दोलनलाई देशव्यापी विस्तार गर्ने र सदनमा जारी संघर्षलाई अझै कडा बनाउने निर्णय एमालेले गरेको हो ।
एमालेलाई पर्सा जिल्लामा राजनीतिक गतिविधि गर्न नदिने भनी मधेसी मोर्चाले गरेको निर्णयलाई चुनौति दिन एमालेले मधेसमा समेत अभियान चलाउने भएको छ । मधेसी जनता विरुद्ध भइरहेको षडयन्त्रको भण्डाफोर गर्ने निर्णय भएको पार्टी उपाध्यक्ष वामदेव गौतमले जानकारी दिएका छन् । एमालेको यो निर्णयसँगै अब मधेसमा मुठभेड हुने सम्भावना बढेर गएको छ ।












