२० मंसिर,दाङ । नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य किरणले वर्तमान संविधान खारेजी नै मुलुकको विद्यमान समस्या हलको विकल्प भएको बताएका छन् । वर्तमान संविधान जनविरोधी भएकोले यसले सर्वहारा वर्गको हित नगर्न भएकाले खारेजीको विकल्प नभएको बताए । सोमबार दाङको घोराहीमा पत्रकारहरुसँग कुराकानी गर्दै वैद्यले यस्तो बताएका हुन । गणतन्त्र धर्मनिरिपेक्षता र समावेशीका मुद्दा सम्बोधन भएपनि आधारभूत जनताको अधिकारविनाको संविधानको कुनै तुक नहुने भएकाले राष्ट्रिय शक्तिहरुको एकताबाट जनपक्षीय संविधान निर्माणको बाटो लाग्नु पर्ने जिकिर गरे ।
सर्वहारा वर्गको नेतृत्वमा वैज्ञानिक समाजवाद उन्मुख संविधान निर्माण नगर्दासम्म जनताको वास्तविक संविधान बन्न नसक्ने ठोकुवा गरे । राज्य पुर्नसंरचनाको सवालमा मधेशी थारु लगायतका आवाजहरु उठिरहेको भए पनि किसान मजदुरका आवाज समेट्न नसकेको आरोप लगाए । सर्वाहारावर्गको नेतृत्व बन्न नदिन विदेशी शक्ति पूरा बल लगाएर लागेको आरोप धारणा समेत उनले व्यक्त गरे। वर्तमान सरकार विदेशीको इशारामा चलेकोले जनताका जायज मागहरु सम्बोधन गर्न नसक्ने तर्क उनले गरे ।
अर्को फरक प्रसंगमा कम्युनिष्ट आन्दोलन टुटफुटपछि जुट पनि भएको स्मरण गर्दै क्रान्तिकारी विचारको रक्षा गर्न आफूहरु संघर्षरत भएको दावी गरे । समय र परिस्थितिको मूल्याँकन गरि जनताको सल्लाहमा आगामी चुनावमा भाग लिन सक्ने संकेत समेत गरे ।












