१९ मंसिर, काठमाडौं । सरकार र अनसनरत चिकित्सक गोविन्द केसीबीच १२ बुँदे सहमति भएपछि केसीले २२ दिन लामो अनसन तोडेका छन् ।
भूकम्पमा परेका अढार्इ वर्षीय बालक मर्साङ तामाङको हातबाट जुस पिउँदै डा केसीले अनसन तोडेका हुन् ।
चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा डीन वरिष्ठताका आधारमा नियुक्ति लगायतका १० बुँदे माग डा केसीले अनसन सुरु गरेका थिए । उनका माग समेट्ने गरी शनिबार साँझ सरकारी टोली र डा केसीका प्रतिनिधिबीच १२ बुँदे सहमति भएको थियो ।

डा केसीको माग अनुसार डिन केपी सिंहले राजीनामा दिएर जगदीश अग्रवाल डिन नियुक्त भएका छन् ।
सहमति अनुसार अब चिकित्सा एेन कार्यान्वयन नभएसम्म नयाँ मेडिकल कलेज विस्तार वा कुनै पनि नयाँ कार्यक्रम ल्याउन पाइने छैन ।
त्रिवि उपकुलपतिको बर्खास्तगीको मागबारे अध्ययन गरी सुझाव दिन केदारभक्त माथेमाको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको छ ।
एमबीबीएस अध्ययनका लागि ३८ लाख शुल्क लिन पाउने व्यवस्था गरिएको छ भने उपत्यका बाहिर एमबीबीएस अध्ययन शुल्क ४२ लाख हुनेछ ।











