१८ मंसिर, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधव नेपालकी पत्नी गायत्री नेपाललाई आतंककारीको आशंकामा टर्कीको अध्यागमनले नियन्त्रणमा लिएको खबर सार्वजनिक भएको छ । घटना गत हप्ताको भए पनि हालै मात्र यसबारेको तथ्य बाहिर आएको हो । गत हप्ता नेता माधव नेपाल र उनकी पत्नी गायत्री एक साथ अमेरिका जाँदै गर्दा विमानमा चढ्ने समयमा गायत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । विमान छुट्ने समय भैसकेकोले माधवले पत्नीलाई प्रहरी नियन्त्रणमै छाडेर आफू अमेरिकाका लागि उडेका थिए ।
आतंककारीले प्रयोग गरेको हनुसक्ने भनी शंका गरिएको राहधानी लिएर यात्रा गरेकोले टर्कीको इस्तानबुल विमानस्थलबाट अमेरिका उड्न लागेको विमान चढ्न ढोका नजिकै पुगेको बेला त्यहाँका अध्यागमन अधिकारीले गायत्रीलाई नियन्त्रणमा लिएका थिए ।
काठमाडौँको त्रिभुवन विमानस्थलको भिआइपी कक्ष हुँदै टर्किस एयरलाइन्सको विमानबाट ८ घण्टा ४० मिनेटको उडानपछि २० घण्टा इस्तानबुल विमानस्थलमा ट्रान्जिटमा रहेपछि नेपाल दम्पत्ति अमेरिका उड्ने तालिका थियो । तर इस्तानबुलको एटाटर्क विमानस्थलमा २० घण्टा कुर्दा गायत्री नेपालमाथि कसैले शंका गरेन तर अमेरिका उड्ने जहाज तयार भएको सूचनासँगै उनी विमान चढ्न लाग्दा अचानक यस्तो घटना भएको थियो ।
आफ्नी पत्नीलाई अध्यागमन अधिकारीले रोकेपछि नेता नेपाल अन्योलमा परेका थिए । तर उनी भने विमान चढिसकेका थिए । उनले एक जना सहयोगीलाई पत्नीसँग छाडेर आफू अमेरिका उडेका थिए ।
नियन्त्रणमा लिइएकी गायत्रीलाई विमानस्थलमा रहेको अध्यागमनको डेस्कमा लगेर उनी आतंककारी भएको नभएको बारे रातभर केरकार गरिएको थियो । कारण के थियो भने गायत्रीले प्रयोग गरेको नम्बरको राहदानी आतंककारीले प्रयोग गरेको हुनसक्ने भन्दै इन्टरपोलमा राखिएको थियो । त्यस्तो सूचना समेत नेपाल प्रहरीले नै इन्टरपोललाई दिएको थियो ।
नेपाली नागरिकका हराएका राहदानी आतंककारीले प्रयोग गरेको भेटिएपछि नेपाल प्रहरीको पहलमा त्यस्ता पासपोर्टको नम्बर संकलन गरी इन्टरपोलको ‘ब्ल्याक लिस्ट’मा राख्ने गरिएकोमा गायत्रीले प्रयोग गरेको राहदानीको नम्बर समेत रहेकाले यस्तो घटना भएको जनाइएको छ ।
हाल १ लाख ४० हजार नेपाली राहदानी नम्बर इन्टरपोलको सूचीमा रहेका छन् । तिनै सूचीको नम्बरमध्ये एक नम्बर थियो गायत्रीको राहदानी नम्बर ।
तर गायत्रीले नोभेम्बर २ तारिकमा कुटनीतिक रादहानी लिएकी थिइन् । तर परराष्ट्र मन्त्रालयले उनलाई यस्तो नम्बरको राहदानी किन दियो भन्ने कुरा रहस्यमय बनेको छ । इन्टरपोलको ब्ल्याकलिष्टमा रहेको राहदानी नम्बर गायत्रीलाई दिनुमा कुनै षडयन्त्रपूर्ण घटना थियो वा गल्ती भन्ने कुराको अनुन्सधान भैरहेको छ ।
नेपालमा परराष्ट्र मन्त्रालय हुँदै प्रहरी मुख्यालय र अमेरिकी दूतावाससँग समन्वय गरेपछि गायत्री टर्कीको अध्यागमनबाट मुक्ति पाएर अमेरिका पुगिसकेकी छिन् । तर यस्तो गम्भीर घटनाको दोषी को थियो भन्ने कुराको छानविन चलिरहे पनि परराष्ट्र मन्त्रालय र प्रहरीले एकअर्कोलाई दोष थोपरेर आफू चोखिने प्रयास गरिरहेका छन् ।












