नरेश सर्राफ/वीरगंज
१८ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेकपा एमाले पार्टीलाई पर्सा जिल्लामा राजनीतिक गतिविधी गर्न नदिने निर्णय गरेको छ । शनिबार वीरगन्जमा बसेको मोर्चाको स्थानीयस्तरको बैठकले मधेसीका माग पूरा गर्न एमाले प्रमुख बाधक रहेको आरोप लगाउँदै जिल्लामा कुनै पनि राजनीतिक गतिविधि हुन नदिने चेतावनी सहित निर्णय गरेको हो ।
मोर्चाको बैठकले एमाले मधेसविरोधी दल भएको ठहर गर्दै पर्सामा एमालेको औपचारिक र अनौपचारिक वा कुनै पनि राजनीतिक गतिविधि र कार्यक्रम गर्न नदिने निर्णय भएको सदभावना पार्टीका नगर अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए ।
मोर्चाको आदेश अटेर गरी एमालेले जिल्लामा कुनै पनि राजनीतिक गतिविधि गर्न खोजे त्यसको विरुद्ध मधेसी मोर्चा सशक्त प्रतिवाद गर्ने चेतावनी समेत दिएको छ । एमालेको कार्यक्रमको प्रतिकार गर्न मोर्चाका नेता कार्यकर्ता तयारी अवस्थामा रहेको नगर अध्यक्ष सर्राफले जानकारी गराए ।
एमालेलाई निषेध गर्ने निर्णय गर्न बसेको बैठकको अध्यक्षता संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले गरेका थिए । सो बैठकमा सदभावना पार्टीका केन्द्रीय सदस्य निजामुदिन समानी, नेपाल सदभावना पार्टीका महासचिव शिव पटेल, तमलोपा पर्साका अध्यक्ष पुरुषोत्तमलाल झा, राष्ट्रिय मेधस समाजवादी पार्टी पर्साका अध्यक्ष प्रेम बाबु पटेल, तराई मधेस सदभावना पार्टी पर्साका अध्यक्ष वीरेन्द्र यादव, मधेसी जनअधिकार फोरम गणतान्त्रिक पर्साका अध्यक्ष मुस्तकिम अन्सारी, नेपाल सदभावना पार्टीका जिल्ला अध्यक्ष मनोज कर्ण लगायत सहभागी थिए ।
यसैबीच मोर्चामा आबद्ध मधेसी दलका नेता कार्यकर्ताहरुले शनिबार नै वीरगंजमा एमालेविरुद्ध नाराबाजी गर्दै प्रदर्शन पनि गरेका छन् । फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको अगुवाइमा मधेसी दलका नेता कार्यकर्ताले घण्टाघर चोकमा एमालेविरुद्ध नारावाजी गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी फोरम नेपालका अध्यक्ष प्रदीप यादवले संविधानमा मधेसीको हक सुनिश्चित नहोस् भनेर नै एमालेले अहिले आन्दोलन गरिरहेको आरोप लगाए । मधेसमा एमालेको कुनै आवश्यकता नरहेको भन्दै यादवले पर्सा जिल्लामा एमालेले कुनै प्रकारको गतिविधि गरे त्यसविरुद्ध कडा प्रतिकार गर्ने चेतावनी दिए ।
(तस्वीर :नरेश सर्राफ)













