१८ मंसिर, काठमाडौं । नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकीकरण हुने भएको छ । यी पार्टीलगायत मधेसका अन्य दुई पार्टी समेत एकीकरण गर्ने भित्री गृहकार्य भैरहेको जानकारी नेपालदेशडटकमलाई प्राप्त भएको छ । एकातिर तमलोपा र सद्भावना पार्टी एकीकरण गर्ने गृहकार्य भैरहेका वेला अर्को ध्रुवमा रहेका मधेसी पार्टीहरु भने नयाँ शक्तिसँग एकीकरण गर्ने तयारीमा लागेका हुन् ।
डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच छिट्टै एकीकरण हुन लागेको जानकारी नयाँ शक्तिका नेता रामकुमार शर्माले दिएका छन् । नेपालदेशडटकमसँग कुराकानी गर्दै शर्माले भने – ‘छिट्टै नै दुई पार्टीबीच एकता हुन्छ, त्यसको सुरुवातका रुपमा संविधान संशोधन प्रस्तावबारे दुई नेताको संयक्त विज्ञप्तीमार्फत धारणा सार्वजनिक भएको हो ।’
दुई पार्टीबीच एकीकरण गर्नका लागि आफूले सूत्राधारको काम गरिरहेको दावी समेत उनले गरे । आफू निरन्तर यसको गृहकार्यमा लागेको बताउँदै शर्माले भने- ‘शरत्सिंह भण्डारीको पार्टी (रामसपा) र महेन्द्र यादवको पार्टी (तमसपा) समेत सँगसँगै एकीकरण हुने छ ।’
चार पार्टी एक भएपछि तेस्रो ठूलो दलका रुपमा नयाँ पार्टीको उदय हुने दावी उनले गरे । खस आर्यका शक्तिशाली नेता बाबुराम भट्टराई, जनजातिका सबैभन्दा शक्तिशाली नेता अशोक राई र मधेसका सबैभन्दा शक्तिशाली नेता उपेन्द्र यादव रहेको दावी गर्दै शर्माले भने – ‘तीन क्लस्टरका सबैभन्दा शक्तिशाली नेताले हाँकेको पार्टीले नेपाली राजनीतिमा ठूलो परिवर्तन ल्याउने छ ।’
स्मरणीय छ डा. बाबुराम भट्टराई र उपेन्द्र यादव दुवै जना माओवादीबाट अलग्गिएर नयाँ पार्टी गठन गरेका व्यक्तिहरु हुन् । दुवै दलले कम्युनिस्ट सिद्धान्त छाडे पनि उनीहरुको पार्टीले समाजवादी कम्युनिस्टको अवधारणा अगाडि सारिरहेका छन् ।













