१८ मंसिर, काठमाडौं । संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव सरकारले फिर्ता पनि नलिने र परिमार्जन पनि नगर्ने उद्घोष प्रधानमन्त्री प्रचण्डले गरेका छन् । संविधान संशोधन प्रस्ताव मधेसी मोर्चाको सहमतिमै दर्ता गरिएको र अब मोर्चाले आनाकानी गरे पनि त्यसमा कुनै परिवर्तन नगरिने जानकारी प्रचण्डले शनिबार दिएका हुन् । आफ्नो दलको केन्द्रीय कार्यालयको बैठक तथा पोलिट्ब्युरो बैठकमा माओवादी अध्यक्ष प्रचण्डले यस्तो दृढता व्यक्त गरेका हुन् ।
समस्या समाधानका लागि सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको र अब समस्या समाधान हुने दावी समेत उनले गरे । अब मधेसी दल तथा एमाले नआए पनि प्रस्ताव फिर्ता नगरी चुनाव घोषणा गरेर अगाडि बढ्ने दृढता उनले व्यक्त गरे ।
संविधान संशोधन प्रस्ताव दर्तापछि उत्पन्न परिस्थितिबारे माओवादी बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष प्रचण्डले जानकारी गराएका थिए । केन्द्रीय कार्यालय बैठक विहान लाजिम्पाटमा बसेको थियो भने त्यसपछि पोलिट्ब्युरो बैठक अपरान्ह पार्टी कार्यालय पेरिसडाँडामा बसेको थियो । सबै पक्षलाई मिलाएर लैजाने विषयमा पोलिट्ब्युरो बैठकमा छलफल भएको जानकारी पार्टी प्रवक्ता पम्फा भुसालले दिइन् ।












