१६ मंसिर, काठमाडौं । नयाँ संविधान जारी भएपछि बारम्बार संसद बहिष्कार र अवरोध गर्दै आएका मधेसकेन्द्रित दललाई शान्त पार्न सरकारले ल्याएको संविधान संशोधन प्रस्तावपछि प्रमुख विपक्षी नेकपा एमालेले संसद अवरोधको प्रक्रिया सुरु गरेको छ । संवैधानिक व्यवस्थाको विरुद्धमा र जनताको चाहनाविपरी गएर सरकारले संविधान संशोधन विधेयक ल्याएको भन्दै एमालेले व्यवस्थापिका संसद बैठक अवरुद्ध गर्ने श्रृंखलाको सुरुवात विहीबारबाट गरेको हो ।
संसदको बिहीबारको बैठक सुरु भएलगत्तै एमाले उपाध्यक्ष बामदेव गौतमले विशेष समय लिएर बोल्दै संशोधनको विरोध गरे । ५ नम्बर प्रदेशका पहाडी क्षेत्रलाई हटाएर तराईको मात्र प्रदेश निर्माण गर्ने प्रस्ताव आएको भन्दै एमाले उपाध्यक्ष गौतमले यसले पहाड र तराईलाई मिलाउन पाइन्न भन्ने आवाज प्रस्तुत भएको आरोप समेत लगाए। देशलाई बर्बाद बनाउने र तराईलाई अलग राष्ट्र बनाउने षडयन्त्र भएको आरोप गौतमको थियो ।

गौतमले बोलेलगत्तै एमालेसहित राष्ट्रिय जनमोर्चा, मालेका सांसदहरु उठेर विरोध गरे । सभामुख ओनसरी घर्तीले बिहीबारको बैठकमा संविधान संशोधन एजेण्डा नभएको भन्दै बस्न आग्रह गरिन् । तर, विपक्षी सांसदहरुले विरोध जारी राखेपछि संसद बैठक १७ गतेसम्मका लागि स्थगित भएको छ ।
एमाले उपाध्यक्ष गौतमले बोलिरहँदा कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले नियमापत्ति गरेका थिए। संसद नियमावली अनुसार सभामुखमाथि आरोप लगाउन नपाइने उनले बताए ।
तर, एमाले सांसदहरुले श्रेष्ठको नियमापत्तिविरुद्ध होहल्ला गरे । लगत्तै सभामुखले कांग्रेस सचेतक श्रेष्ठलाई बस्न र गौतमलाई बोल्न आग्रह गरेकी थिइन् । गौतमले बोलेपछि पनि एमाले सांसद कुर्चीमा नबसी उठेर अवरोध गरेपछि सभामुखले शुक्रबार ३ बजेसम्मका लागि बैठक स्थगित गरेकी छिन् ।
संशोधन प्रस्ताव फिर्ता नभएसम्म सदन चल्न नदिने एमालेको अडानले संसद फेरि समस्यामा फसेको छ ।











