१० मंसिर, काठमाण्डौं । ‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्गिक हिंसारहित समाज’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान–२०१६ आजदेखि सुरु भएको छ । दिवसको अवसरमा राष्ट्रिय महिला आयोगकी कार्यवहाक अध्यक्ष भवानी घिमिरेले घर घरमा भइरहेको महिला हिंसाविरुद्ध जागरण गराउने उद्देश्यले देशैभर अभियान सञ्चालन गरिने जानकारी दिइन ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने यो दिवसका अवसरमा महिला, बालिबालिका तथा समाजकल्याण मन्त्रालयसहित विभिन्न गैरसरकारी संस्थाको उपस्थितिमा थुप्रै कार्यक्रम गरिने छ ।
यसमा हाजिरीजवाफ, किशोरकिशोरीलाई अभिमुखीकरण, महिलाका विषयमा भएका कानुनका विषयमा जानकारी, महिला हिंसाविरुद्धका नाटक प्रस्तुत गरिने छन् ।
लैङ्गिक हिंसा अन्त्यको प्रयासस्वरुप सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोबल लिडरसिपको सहयोगमा २० देशका २३ उत्साहित महिलाको समूहले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको सुरुआत गरी विश्वलाई अभियानमा जुट्न आह्वान गरेको थियो । हरेक वर्ष अङ्ग्रेजी महिनाको नोभेम्बर २५ बाट सुरु गरी डिसेम्बर १० सम्म अभियान सञ्चालन गरिन्छ ।
यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने हिंसाविरुद्धको अन्तर्रा्ष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको सुख, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरिन् । सामाजिक रुपमा समेत महिला हिंसालाई निषेध र निरुत्साहन गरी उनीहरुविरुद्ध हुने हिंसाविरुद्धको अन्तराष्ट्रिय दिवसले मर्यादित समाज निर्माण गर्न सबैमा उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि राष्ट्रपतिले गरिन ।











