९ मङ्सिर, काठमाडौँ । सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा यही मङ्सिर २३ गतेदेखि कर्णाली एक्सपो –२०१६ हुने भएको छ । बुधबार यहाँ आयोजित पत्रकारसम्मेलनमा भारत, पाकिस्तान तथा बङ्गलादेशका व्यापारीले पनि भाग लिने सो व्यापार मेलामा लगानीसम्बन्धि इन्भेस्टमेन्ट पेभिलियनका साथै नेपालका चारसय र ती मुलुकका ३० वटा स्टल रहने जानकारी दिइयो ।
स्थानीय घरेलु उत्पादन, स्थानीय कला संस्कृति, पहिरन तथा परिकार मेलाका मुख्य आकर्षण हुने मेला मूल समारोह समितिका संयोजक प्रकाश अधिकारीले पत्रकारलाई बताए । उहाँले ३ लाख दर्शकले अवलोकन गर्ने र रु १० करोडको कारोबार हुने जानकारी दिए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष डा किशोरकुमार प्रधानले मेलामा परम्परागत उत्पादन तथा प्रदेश नं ६ का उत्पादन रहने जानकारी दिए । सुर्खेत नेपालकै सबैभन्दा गरिब जनता बसोबास गर्ने जिल्ला भएको र यहाँ ३५ प्रतिशत मानिस गरिब रहेको सो अवसरमा जानकारी दिइयो ।













