९ मङ्सिर, काठमाडौँ । व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका साना २५ दलले आफूहरुलाई बेवास्ता गर्दै नयाँ कानुन बनाउन सरकार लागेकाले त्यसबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान पुगेका साना ती दलका नेताले सङ्घीय प्रणालीमा दलका नेतालाई दिइने सुविधा कटौली तथा पद सीमा (थ्रेस होल्ड) का नाममा ठूला र साना दलबीच फरक फरक व्यवस्था गर्न लागिएको भन्दै ज्ञापनपत्र बुझाएका हुन् ।
उहाँहरुले राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ र सङ्घीय संसद्को पदाधिकारी एवम् सदस्यको सुविधा र पारिश्रमिक सम्बन्धमा बनेको विधेयक, २०७३ का विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको छलफलमा राज्य व्यवस्था समितिले आफूहरुलाई सहभागी नगराइएकाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको पूर्व मन्त्री एवम् संसद् प्रेमबहादुर सिंहले जानकारी गराए ।
यता प्रधानमन्त्री दाहालले सरकारको ध्यानाकर्षण भएको भन्दै मागका विषयमा अन्य राजनीतिक दलसँग छलफल गरेर अगाडि बढ्ने धारणा राखे ।उनले संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दलको सहयोग आवश्यक भएको भन्दै साना राजनीतिक दलका मागका विषयमा ध्यान दिने धारणा राख्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।











