१ मंसिर, काठमाडौं । सरकारले विभिन्न विधाका १५ उत्कृष्ट करदातालाई वुधबार पुरस्कृत गरेको छ । कर दिवसका अवसरमा काठमाडौंमा आज आयोजित कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले उत्कृष्ट १५ करदातालाई सम्मान गरेका हुन् ।
सरकारलाई सबैभन्दा बढी कर तिर्ने करदाता सूर्य नेपाल प्रालि, निर्यात कम्पनीका तर्फबाट बढी कर तिर्ने डाबर नेपाल, बढी कर तिर्ने विशेष उद्योग युनिलिभर नेपाल र पशुपक्षीजन्य उद्योगका तर्फबाट ओम सावर फिड इन्डस्ट्रिज पुुरस्कृत भएका छन् ।
त्यस्तै बढी कर तिर्ने सहकारी मध्येबाट राष्ट्रिय सहकारी बैंक लिमिटेड, लघुवित्त कम्पनीका तर्फबाट छिमेक लघुवित्त कम्पनी, बैंक वित्तीय संस्थाका तर्फबाट नबिल बैंक, बीमा व्यवसायबाट लाइफ इन्सुरेन्स कर्पाेरेसन, विप्रेषण कम्पनीका तर्फबाट आएमई लिमिटेडलाई बढी कर तिर्ने संस्थाका रुपमा पुरस्कृत भए ।
पर्यटन व्यवसायमध्येबाट तारा गाउँ रिजेन्सी होटल, व्यापार व्यवसायका तर्फबाट सिप्रदी ट्रेडिङ लिमिटेड, साना करदातामध्येबाट सिवेक अस्पताल प्रालि, व्यक्तिगतमध्येबाट सिद्धार्थशम्शेर जबरा र कर कार्यालयमा दर्ता भएपछि हालसम्म सबैभन्दा बढी कर तिर्ने नेपाल दूरसञ्चार कम्पनी पनि पुरस्कृत भएका छन् ।












