३० कात्तिक, काठमाडौं । सरकारलाई जनउत्तरदायी बनाउन संसदले प्रधानमन्त्री र मन्त्रीहरुसँग सिधा सवाल जवाफ कार्यक्रम राख्ने भएको छ । यस्तो सवाल जवाफ प्रधानमन्त्रीसँग महिनाको एक दिन र मन्त्रीहरुसँग दुई दिन हुने छ र यसको प्रत्यक्ष प्रसारण पनि गरिने छ ।
सभामुख ओसरी घर्ती र संसदीय समितिका सभापतिहरु एवम् सबै दलका प्रमुख सचेतकहरुको आज बसेको बैठकले प्रधानमन्त्री र मन्त्रीहरुसँग संसदमा सिधा सवाल जवाफ गर्ने निर्णय गरेको हो । विकास निर्माण र जनसरोकारका विषयमा प्रधानमन्त्रीले हरेक महिना सांसदहरुका सिधा प्रश्नको सिधा जवाफ दिने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको हो ।
संसद सचिवालयको राज्यव्यवस्था समितिको सभाकक्षमा भएको बैठकले हरेक महिनाको दोस्रो आइतबार प्रधानमन्त्री र सांसदको सिधा सवाल जवाफ कार्यक्रम राख्ने निर्णय गरेको हो । त्यस्तै सरकारका मन्त्रीहरुसँगको सवाल जवाफ कार्यक्रम हरेक महिनाको दोस्रो र चौथो वुधबार संचालन हुनेछ ।
त्यसैगरी संसदका काम प्रभावकारी बनाउनका लागि संसदीय समितिका बैठक र संसद बैठक संचालन गर्ने विषयमा समेत समय निर्धारण गरिएको छ । संसद चालु रहेको अवस्थामा समितिहरुका बैठक एक बजेभित्र सक्ने र एक बजेपछि संसद संचालन गर्ने गरी समय निर्धारण समेत गरिएको छ । संविधान कार्यान्वयमा प्रभावकारी भूमिका खेल्नका लागि सरोकारवाला समितिले विधेयक निर्माणको काम प्राथमिकता साथ सक्ने निर्णय समेत भएको छ । समितिका सभापति तथा सदस्यले गर्ने स्थलगत भ्रमणलाई मितव्यी र प्रभावकारी बनाउन एक समिति गठन गरिएको जानकारी विकास समितिका सभापति रविन्द्र अधिकारीले दिए । गठिन समितिले आन्तरिक तथा बाह्य कार्यविधि बनाएपछि लागू गर्ने जानकारी कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले दिए ।











