२९ कात्तिक, काठमाडौं । कार्तिक शुक्ल पूर्णिमाका दिन आज बेलुकी चन्द्रमा सामान्य अवस्थामा भन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत चम्किलो देखिएको छ । काठमाडौंको खुला आकाशमा आज देखिएको चन्द्रमासहितको दृश्य मनमोहक देखिएको छ ।
चन्द्रमा पृथ्वीको नजिक आएकाले यस्तो देखिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापिठ ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्यले जानकारी दिए ।
चन्द्रमा शुभ उपग्रह भएकाले यसबाट केही नकारात्मक असर नपर्ने तर कमजोर मन भएकाले भने एक्लै हेर्न नहुने पनि उनले बताए। यस दृश्यले मानिसमा खुशी र चमक बढाउने पनि उनले बताए। चन्द्रमा नजिक हुने भएकाले समुद्रमा भने छाल ल्याउन सक्ने आचार्यले बताए । समुद्रमा आउने ज्वारमा चन्द्रमाको गुरुत्वआकर्षण शक्तिको प्रभाव हुने भएकाले आज समुद्रमा ठूलो ज्वार आउन सक्ने खगोलविदहरुको भनाइ छ ।
हिजो बेलुका देखि नजिक आई ठूलो देखिएको चन्द्रमा भोलि बेलुका देखि क्रमश टाढा हुदै जाने छ । पृथ्वीको यति नजिकै चन्द्रमा हेर्नका लागि सन् २०३४ सम्म पर्खनुपर्ने जनाइएको छ ।
यसअघि विसं २००४ मा यस्तो दृष्य देखिएको थियो भने अब १८ वर्षपछि मात्र पृथ्वीबाट यस्तो दृष्य देखिने सहप्राध्यापक आचार्यले जानकारी दिए ।













