२९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा म्याद तामेली गर्न जाँदा अवरोध पर्याउने उनका मतियार पूर्वकानुन सचिव प्रमोद कार्कीले आज अदालतसमक्ष लिखित जवाफ पेस गरेका छन् ।
लिखित जवाफमा अदालतलाई असहयोग गर्नेगरी आफूले कुनै पनि काम नगरेको र घटनास्थलमा खिचिएको तस्बिर तथा भिडियोमा आफू देखिन पुगेको भए पनि दोषी हो भनेर प्रमाणित गर्न नसक्ने उल्लेख गरेका छन् ।
म्याद तामेली गर्न कुनै प्रतिकार समूह भए÷नभएको आफूलाई कुनै जानकारी नरहेको उल्लेख गर्दै आफू अवरोध गर्न नगएको र बाटोमा हिँड्दै गर्दा के रहेछ भनी हेर्न मात्रै गएको लिखित जवाफमा उल्लेख छ ।
सर्वोच्च अदालतले म्याद तामेलीमा अवरोध पुर्याएकोप्रति आयोगका निलम्बित प्रमुख आयुक्त कार्कीसहित पूर्वसचिव कार्कीलाई लिखित जवाफ माग गरेको थियो । सोहीअनुसार पूर्वसचिव कार्कीले लिखित जवाफ पेस गरेका हुन् ।












