२५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आफूले केही गर्न खोज्दा खुट्टा तान्नेहरुबाट हैरान भएको गुनासो गरेका छन् । विहीबार वुद्धिजीवी संगठनले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले भने जिम्मेवार भएर राष्ट्र हितमा काम गर्दा पनि राजनीतिक नेतृत्वले नै आलोचना गर्ने र खुट्टा तान्ने गरेकाले प्रभावकारी काम हुन सकेन ।
नेपालमा वैज्ञानिक अन्वेषणको सम्भावनाका विषयमा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेतृत्वको खुट्टा तान्ने संस्कृति हावी बन्दै जादा त्यसले अराजकता निम्त्याएको दावी गरे । राम्रो कामको प्रोत्साहनका लागि सामूहिक संकल्प गर्नुको साटो विरोध गर्ने र खुट्टा तान्ने अराकता देशमा हावी भएको दुखेसो उनले पोखे ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो दुखेसो मात्र पोखेनन् वुद्धिजीवीहरुलाई अलिकति आश्वासन समेत दिए । सरकारले पर्याप्त बजेट छुट्याएर विज्ञान प्रविधिको विकास र अनुसन्धानलाई प्रभावकारी बनाउने आश्वासन उनले दिए । विज्ञान प्रविधि मन्त्रालयको नेतृत्व गर्ने मन्त्रीले आफू अपहेलित भएको महसुस गर्ने भएकाले विज्ञान प्रविधिको विकास अपेक्षा अनुसार हुन नसकेको दावी प्रचण्डले गरे ।












