२३ कात्तिक, नयाँ दिल्ली । भारत सरकारले ५ सय र १ हजार दरका भारतीय नोट मंगलबार मध्यरातिपछि नचल्ने घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सन्देश दिँदै सरकारको यो फैसलाले भारतीय जनतालाई समस्या हुने भए पनि देशका लागि कष्ट उठाउन आग्रह गरेका छन् । भारत सरकारको यो निर्णयसँगै ५ सय र १ हजार दरका हाल प्रचलनमा रहेका भारतीय रुपैयाँका नोट प्रयोग गर्न पाइने छैन ।
भारत सरकारको यो निर्णयपछि पुराना पाँच सय र एक हजारका नोट रद्दिको टोकरीमा फ्याँक्नु चाहिँ पर्दैन । सरसामान खरिद गर्नका लागि यी नोट नचले पनि सरकारले पुराना नोट साट्ने प्रबन्ध मिलाएको छ । प्रधानमन्त्री मोदीले भने – ‘पाँच सय र हजारका पुराना नोट बैंक वा पोस्ट अफिसमा जम्मा गर्न सकिने छ । पुराना नोट जम्मा गरेपछि प्रतिदिन दश हजार रुपैयाँ र हरेक हप्ताको वीस हजार रुपैयाँ निकाल्दै जान सकिने छ ।’ ३० डिसेम्बरसम्म पुराना नोट बदल्न सकिने मोदीले बताए ।
कालो धनमाथि रोक लगाउनका लागि यो कडा कदम उठाइएको मोदीले बताए । आठ नोभेम्बरमा यस्तो घोषणा गर्दै मोदीले भने – ‘नोभेम्बर नौ र दश तारिकमा भारतका कुनै पनि एटिएम मेसिनले काम गर्ने छैनन् र नौ नोभेम्बरमा बैंकहरु समेत बन्द रहने छन् ।’
पुराना नोट नचल्ने भएपछि विरामीलाई औषधी खरिद गर्न र रेल सेवाको टिकट बुकिङ काउण्टरमा भने पुराना नोटबाट सुविधा लिन सक्ने व्यवस्था सरकारले मिलाएको मोदीले जानकारी दिए । आगामी दिनमा २ हजार र ५ सयका नयाँ नोट सरकारले जारी गर्ने उनले बताए ।












