२३ कात्तिक, काठमाडौं । हाल लोडसेडिङ नभएको भनी तपाईं खुशी हुनुभएको छ भने त्यो खुशी धेरै समय नरहने देखिएको छ । उद्योगहरुलाई दिइएको र लुकाएर राखिएको विजुली उर्जामन्त्री जनाद्र्धन शर्माको पहलमा जनतालाई दिइए पनि त्यो धेरै समय नटिक्ने देखिएको हो । माओवादी नेतृत्वलाई वद्नाम बनाउन चाहने कर्मचारी पङ्ति फेरि कसरी लोडसेडिङ गर्ने भन्ने भित्री योजनामा लागेको रहस्य नेपालदेशडटकमलाई प्राप्त भएको छ । कुनै समयमा एमाले उर्जामन्त्री गोकर्ण विष्टको लोकप्रियता ओझेलमा नपरोस् भन्ने योजनासहित एमाले निकट कर्मचारीहरु यतिवेला विद्युत प्राधिकरणसहित सरकारलाई नै असफल बनाउने योजनामा लागेको प्राधिकरणकै एक कर्मचारीले बताए ।
फेरि लोडसेडिङ बढ्ने कारण अरु पनि छन् । विद्युत आपूर्तिको पूर्वाधार संरचनामा सामान्य सुधार भएर लोडसेडिङ नभएको भए पनि माग अनुसार बिजुली आपूर्ति नभएकाले अँध्यारोको समस्या यथावत रहने देखिएको छ । दसैं, तिहार र छठजस्ता पर्वमा औद्योगिक क्षेत्रमा कम माग, भारतबाट बढी बिजुली आयात तथा झन्डै ३० मेगावाट आन्तरिक उत्पादन थपिएकाले समस्या अहिले समस्या नदेखिएको हो ।
प्राधिकरणले अहिले भारतबाट करिब ३ सय मेगावाट बिजुली आयात गरेको छ भने ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ बाट प्रणालीमा २५ मेगावाट थपिएको छ । यस्तै, औद्योगिक क्षेत्रको झन्डै ३ सय मेगावाटको माग चाडपर्वमा स्वाट्टै घटेको छ ।उपत्यकाका केही स्थानका पुराना ट्रान्सफर्मर फेरिएकाले पनिप्राधिकरणलाई माग र आपूर्ति व्यवस्थापन गर्न सजिलो भएको हो ।
मंसिरको मध्यदेखि उपत्यकामा पुनः लोडसेडिङ हुने देखिएको हो । प्राधिकरणले चालु आर्थिक वर्षको उच्चमाग १ हजार ४ सय २३ पुग्ने प्रक्षेपण गरेको थियो । तर, तिहार लक्ष्मी पूजाका दिन माग करिब १ हजार ५ सय मेगावाट थियो । औद्योगिक क्षेत्रमा माग नभएकाले साँझ दुई वा तीन घन्टाको मात्र माग व्यवस्थापन गर्न सजिलो भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।
गतवर्ष यही समयमा प्राधिकरणले भारतबाट करिब २ सय मेगावाट आयात गरेको थियो । यस्तै, ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइननिर्माण पूरा भएको थिएन । यो प्रसारण लाइन पूरा भएर यहाँबाट अहिले ७० देखि ८० मेगावाट निरन्तर आयात भइरहेको छ ।
उपत्यकालाई लोडसेडिङ मुक्त गर्ने योजना भए पनि अहिले उपलब्ध बिजुलीकै आधारमा सजिलो नरहेको बताइन्छ । प्रणालीमा अहिले करिब ९ सय मेगावाट उपलब्ध भएको तर उद्योग कलकारखाना सञ्चालन भएपछि यसले नधान्ने आंकलन स्वयम् प्राधिकरणको छ । यद्यपि वर्तमान सरकारले यो वर्षको हिउँदमा लोडसेडिङ ७ घन्टामा सीमित गर्ने लक्ष्य लिएको छ ।
प्रधानमन्त्री प्रचण्ड स्वयम्ले नै लोडसेडिङ कम गर्न सरकारले आवश्यक सबै संयन्त्र परिचालन गर्ने प्रतिबद्धता त जनाएका छन् तर विगतमा उनकै दलका नेता पोष्टबहादुर बोगटी उर्जामन्त्री बन्दा समेत लोडसेडिङ कम गर्ने कुरा सम्भव भएको थिएन । चुहावट नियन्त्रण गर्न सुरक्षा संयन्त्रदेखि आवश्यक बजेट उपलब्ध गराउने प्रधानमन्त्रीको योजनाले लोडसेडिङ घट्ने आशा त गर्न सकिन्छ तर पूरै हट्ने सम्भावना भने देखिँदैन ।












