१९ कात्तिक, जनकपुर । नेपालमा भारतले सधैं अस्थिरता पैदा गरिरहेको यथार्थता रहे पनि भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भने भारतले सदैव नेपालमा शान्ति, समृद्धि र विकास चाहेको अभिव्यक्ति दिएका छन् । नेपाल भ्रमणको तेश्रो दिन शुक्रबार जनकपुरमा नागरिक अभिनन्दन ग्रहण गर्दै राष्ट्रपति मुखर्जीले भारतले नेपालमा सधैं शान्ति, स्थायित्व र विकास चाहेको दावी गरेका हुन् ।
छिमेकीको नाताले पनि भारत सधैं शान्ति र सम्वृद्ध नेपालको चाहना र कामना गरिरहने उनले बताए उहाँले आदिकालदेखि नै नेपाल र भारतबीच भाइचाराको सम्बन्ध रहेकाले दुवै देशका नागरिकका लागि भारतले सिमा क्षेत्रमा लगानी बढाइरहेको बताए ।
राष्ट्रपति मुखर्जीले जनकपुरमा दुईवटा धर्मशाला निर्माण गर्ने घोषणा समेत गरेका छन् । जानकी मन्दिरको दर्शन गर्दै धर्मशाला निर्माण गर्ने घोषणा गरे पनि मुखर्जीको भनाइ र भारतको व्यवहार भने आपसमा मेल खाँदैन । नेपालका राजनीतिक दलहरुभित्र खेल्दै भारतले नेपालमा सधैं अस्थिरता निम्त्याइरहेको छ । नेपालका जलसम्पदामाथि कुदृष्टि लगाइरहेको भारतले नेपालका ठूला आयोजना समेत ओगटेर राख्ने विकास हुन नदिने गर्दै आएको छ । आफूअनुकुलको कार्य गर्नेको सरकार नेपालमा बनाउन भारतले भित्री रुपमा ठूलो खेल खेल्दै आएको छ । कहिले नाकाबन्दी गर्ने र कहिले विभिन्न राजनीतिक दललाई उचालेर भारतले नेपालमा अशान्ति मच्चाउँदै आएको छ । तर, मुखर्जीले भने भारतले नेपालमा शान्ति र समृद्धि चाहेको भनेर सेतो झुट बोलेको स्पष्ट हुन्छ ।
भारतको यही हेपाहा प्रवृतिका कारण मुखर्जीले जनकपुरमा नागरिक अभिनन्दन थापिरहँदा पोखरामा भने कालो झण्डाहरु आकाशभरि फहराएका थिए । पोखरावासीले मुखर्जीको विरोधमा वेलुनमा कालो झण्डा बाँधेर आकाशमा उडाएर विरोध गरेका थिए ।












