१९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनमा एमालेलाई मनाउने प्रयास थालेका छन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमण पूरा नहुँदै व्यस्तताकाबीच प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनको कसरत सुरु गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीलाई शुक्रबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बोलाई संविधान संसोधन बारे प्रचण्डले छलफल गरेका हुन् । शुक्रबारको दुईपक्षीय छलफलमा मधेसको समस्या सम्बोधन, संविधान कार्यान्वयनका लागि गर्नुपर्ने तीन तहको निर्वाचन लगायत विषयमा सहयोग र समझदारीका लागि प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीसँग आग्रह गरेका थिए । दुईपक्षीय छलफलपछि संचारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा छलफल बताए । संविधान संशोधनका विषयमा एमाले सकारात्मक भएको वा नभएको बारे उनले प्रतिक्रिया जनाएनन् ।
भेटबारे प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यल संविधान संसोधन र कार्यान्वयन लगायत विषयमा दुईपक्षीय छलफल जारी राख्ने सहमति भएको जानकारी दिएका छन् ।












