१७ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति प्रणव मुखर्जीबीच वुधबार भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शितल निवासमा भएको भेटवार्तामा उनीहरुबीच युगौँदेखिको नेपाल–भारतबीचको सुसम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सौहाद्र्रपूर्ण एवम् हार्दिकतायुक्त वातावरणमा भएको वार्तामा दुई मुलुकबीचको ऐतिहासिक, सांस्कृतिक, सामाजिक एवम् जनस्तरको सम्बन्धलाई थप सुदृढ तुल्याउनेबारे छलफल भएको थियो ।
भेटवार्तामा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, राष्ट्रपतिका सल्लाहकारहरू, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी उपस्थित थिए ।
राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जी नेपालको तीन दिवसीय राजकीय भ्रमणमा आजै काठमाडौँ आइपुगेका थिए । त्रिभुवन विमानस्थलमा राष्ट्रपति भण्डारीले मुखर्जीलाई स्वागत गरेकी थिइन् । मुखर्जीलाई विमानस्थलमा स्वागत गरेपछि सिधै शितल निवास पुर्याइएको थियो ।
हेर्नुहोस् भिडियो पनि :












