१६ कात्तिक, भारत । नेपालको जनसङ्ख्या बराबर नेपालीहरु अहिले पनि भारतमा रहेका छन् । यो सङ्ख्या अझ बढी भएको तथ्याङ्क समेत समयसमयमा भारतीय सूचकहरुले देखाएका छन् । त्यस्तै ६० लाखभन्दा बढी नेपाली अरबलगायतका खाडी मुलुकहरुमा रोजगारीमा रहेका छन् । तर १४ वर्षपहिलेसम्म ती नेपालीहरुका लागि नेपाली टेलिभिजनको पहुँच पुग्न सकेको थिएन । नेपालभित्र र बाहिरका नेपालीहरुलाई निरन्तर जोड्ने एउटा माध्यमका रुपमा १४ वर्षपहिले भारतबाट एक स्याटलाइट टेलिभिजनका रुपमा स्थापना भएको थियो – नेपाल वान टेलिभिजन ।
नेपाल र नेपालीहरुका लागि समाचार तथा मनोरञ्जन दिने उद्देश्यसहित प्रवास भारतबाट सुरु भएको यो टेलिभिजन भारतबाट सुरु भएको पहिलो नेपाली भाषाको टेलिभिजन हो । त्यसो त नेपाल वान को नाम नै काफी छ । चाहे जनयुद्धकालमा होस् या संविधान निर्माणका चरणमा यसले नेपालका अन्य टेलिभिजनभन्दा तीव्र गतिमा समाचार सम्प्रेषण गर्दै आएको छ । भारतमा रहेका नेपालीहरुका घना अवादी क्षेत्रलाई केन्द्रित गर्दै नेपाल वानले सुपर न्युज नामको समाचार बुलेटिन समेत प्रसारण गरिएको यसको व्यवस्थापन पक्षले जानकारी दिएको छ ।
भारतमा नेपाली भाषाले २० अगस्त १९९२ मा संविधानको आठौं अनुसूचीमा मान्यता पाएपछि त्यही आधारमा स्थापना गरिएको नेपाल वान टेलिभिजनले आफ्नो प्रसारणको १५ वर्षको पूर्वसन्ध्यामा आफूलाई परिमार्जित गर्न लागेको जानकारी टिभी लाइभ इण्डियाले जनाएको छ ।
नेपाली भाषामा प्रसारणका लागि पहिलो स्याटलाइट टेलिभिजनका लागि नेपाल वान टेलिभिजनले सन् २००३ मा अनुमति पाएको थियो ।
नेपाल र भारतबीचको सदियौंदेखिएको सम्बन्धलाई अझ प्रगाढ बनाउने कार्यमा नेपाल वान टेलिभिजन निरन्तर केन्द्रित रहेको र अबका दिनमा यसलाई अझ प्रभावकारी रुपले अगाडि बढाइने समेत सो कम्पनीले जनाएको छ ।
नेपालबाट संचालित नेपाली टेलिभिजनहरुको पहुँच भारत र अरब मुलुकहरुमा नभएकोले पनि यसको प्रभाव विश्वभरका नेपालीहरुबीच रहेको पाइन्छ । भारतका केबुल तथा डिसहरुमार्फत वितरणका लागि सो टेलिभिजनले ठूलो धनराशी खर्च गर्दै आएको र १५ औं वर्ष पुग्न लागेको अवसरमा यसलाई अझ वृद्धि गर्ने समेत टिभी लाइभ इण्डियाले जनाएको छ ।














