१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका एक जना मन्त्रीले नेताहरुको चरम गुटबन्दीका कारण पार्टीको अस्तित्व संकटमा पर्न लागेको आरोप लगाएका छन् । पार्टी निकट वित्तिय संस्था कर्मचारी संघले दिपावली तथा छठ पर्वको अवसरमा शुक्रबार आयोजना गरेको चियापान कार्यक्रममा सिंचाई मन्त्री दिपक गिरीले पार्टी नेतृत्वमै गुटबन्दी हावी भएका कारण पार्टीकै अस्तित्व संकटमा परेको बताए ।
उनले केन्द्रीय समिति बैठकमा नेताहरुले लोकमान प्रकरणमा निर्णय गरेर अघि बढ्न दवाव दिए पनि नेतृत्व नै अलमलमा परेको आरोप लगाए । मन्त्री गिरीले कांग्रेसले विपी, गणेशमान र शुवर्णशमशेरको नाम बेचेप नि राष्ट्रिय मुद्दा बनिसकेको लोकमान प्रकरण जस्तो गम्भीर विषयमा निर्णय लिन नसकेकोमा आलोचना गरे ।
मन्त्री गिरीले महत्वपूर्ण विषयमा चुस्त दुरुस्त निर्णय गर्न पार्टीमा बहस गर्ने संस्कार नै नभएको दुखेसो पोखे । उहाँले नेताहरुले मन्त्री बनाउन आफूखुशी निर्णय गरे पनि जनताको सरोकारसँग जोडिएको मुद्दामा भने निर्णय गर्न नसकेर लाचारी पन देखाएको टिप्पणी गरे । पार्टीले सांसदहरुलाई ताली बजाउन मात्र प्रयोग गरेकाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको गुनासो उनको थियो ।
मन्त्री गिरीले पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति सदस्य मनोनयमा विना कारण ढिलाइ गरेको आरोप समेत लगाए । गिरी पार्टी महामन्त्री सशांक कोइराला निकट व्यक्ति हुन् ।












