१२ कात्तिक, ललितपुर । महाअभियोग प्रकरण झिकेर एमालेले सत्ता समीकरण बदल्ने षडयन्त्रमा लागेको कुरा सोही दलका अध्यक्ष केपी ओलीले पुष्टि गरेका छन् । कांग्रेस माओवादी सत्ता गठबन्धनलाई भत्काएर एमालेले सत्तामा पुग्ने षडयन्त्र गरेको भनी कांग्रेसका शीर्ष नेताले लगाएको आरोपको पुष्टि हुने अभिव्यक्ति एमाले अध्यक्ष ओलीले शुक्रबार दिएका छन् ।
ललितपुरमा शुक्रबार आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले फेरि पनि एमाले नेतृत्वको सरकार आवश्यक भएको अभिव्यक्ति दिएका हुन् । मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन फेरि पनि एमालेले नै सरकारको नेतृत्व गर्नुपर्ने धारणा उनले व्यक्त गरे ।
सत्ता साझेदार दल नेपाली कांग्रेसका शीर्ष तहका नेताबाट सरकार परिर्वतनको षडयन्त्र अनुरुप माओवादी केन्द्र र एमालेले महाअभियोग प्रस्ताव ल्याएको टिप्पणी गरिरहेका वेला एमाले अध्यक्ष ओलीबाट सरकारको नेतृत्वको अभिव्यक्ति आउनु रहस्यमय देखिएको छ ।
राजनीतिक स्थिरता कायम गर्दै समग्र आर्थिक विकासमा लम्किनका लागि मुलुकलाई एमालेकै नेतृत्व आवश्यक भएको अध्यक्ष ओलीको भनाइ थियो । उनले नेकपा माओवादी केन्द्र तर्फ लक्षित गर्दै एमाले जनतामा लोकप्रिय भइहेका बेला गलत प्रचार गरेर फाइदा लिनेहरु सक्रिय भएको आरोप समेत लगाए ।












