१२ कात्तिक, काठमाडौं । देख्दै अचम्मलाग्दो कुरा : भारतविरोधी माओवादी अध्यक्ष प्रचण्ड यतिवेला भारतको पाउ मोलिरहेका छन् भने भारतप्रस्त पूर्व माओवादी नेता डा. बाबुराम भट्टराई चीनको प्रशंसामा लागेका छन् । आफू प्रधानमन्त्री बनेका वेला त्रिभुवन विमानस्थलको व्यवस्थापन भारतलाई दिने निर्णय गरेका बाबुराम प्रचण्डले भारतमा गएर सहमति गर्दा रातभर ननिदाएका मात्र होइनन् अब चीनतिर निकटता समेत बढाइरहेका छन् । हिजो भारतको तीव्र आलोचना गर्ने प्रचण्ड आज राष्ट्रिय स्वाभिमानलाई नै बन्धकी राखेर भारतीय शासकलाई खुशी पार्न तल्लिन छन् ।
समय पनि गजबको छ । मानिसको प्रवत्ति नै ‘यु टर्न’ गराइदिने । भारतीय राष्ट्रपतिको नेपाल आगमनमा आफ्नो स्वाभिमान नै गुमाएर प्रचण्डले कम्मर कसेका वेला बाबुराम चीनमा पुगेर चीनको सिल्क रोड अवधारणाको प्रशंसा गरेका छन् ।
पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सिल्क रोडले एसियाका प्रत्येक देशलाई बृहत् लाभ पुरयाउने बताउँदै यो कालान्तरमा एसियाको गौरव बन्ने बताउनुभएको छ ।
चीनको ग्वाङ्झाओमा भइरहेको “२१औँ शताब्दी मेरीटाइम सिल्क रोड इन्टरनेसनल एक्स्पो”लाई शुक्रबार सम्बोधन गर्दै भट्टराईले चीनले पहल गरेको वान बेल्ट वान रोड योजना एसियाली राष्ट्रलाई जोड्न ठूलो योगदान पुर्याउने भनी प्रशंसा गरे ।
भट्टराईले भने “रेल र राजमार्गद्वारा चीनको तिब्बत स्वायत्त क्षेत्र र नेपाललाई जोड्न (सम्भवतः भारतसम्म विस्तार गर्न) दुवै प्राविधिक र आर्थिक रूपले सम्भव छ । तसर्थ चीन–भारत–नेपाल आर्थिक करिडोरको कुरा गर्दा भौगोलिक प्रतिकूलताको पुरानै अवधारणा अब असान्दर्भिक भइसकेको छ ।”
भट्टराईले व्यापक पूर्वाधार विकास र तीव्र आर्थिक वृद्धिको निम्ति चीनसँग भएको पूँजी र विशेषज्ञताको उपयोग गर्ने नीति अवलम्बन गर्नु नै सबैको वुद्धिमानी हुने बताए ।
चीनको अवधारणाले संसारलाई नै अझ समृद्ध र शान्तिपूर्ण बनाउनमा मद्दत पु¥याउने विचार उनले व्यक्त गरे ।












