११ कात्तिक, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध ल्याइएको महाअभियोगको प्रस्ताव भारतको इसारामा आएको दावी गरेका छन् ।
आज ट्रक व्यवसायी सङ्घ भक्तपुरको १७औँ वार्षिक साधारणसभामा बोल्दै उनले महाअभियोग प्रस्ताव एमालेले ल्याएको नभई भारतको इसारामा आएको दावी गरे ।

महाअभियोग प्रस्ताव संविधान संशोधनमा एमालेलाई हस्ताक्षर गराउने भारतको चाल मात्रै भएको आरोप उनले लगाए ।
महाअभियोग प्रकरणमा प्रमुख प्रतिपक्षी दल एमाले भारतले चालेको चेसको गोटी बनेको आरोप लगाउँदै विजुक्छेले भारतले चाहेअनुसारको संविधान संशोधनका लागि संसद्मा दुई तिहाइ बहुमत पुरयाउन भारतले एमालेलाई फसाएको तर्क गरे ।
अख्तियार प्रमुख कार्की मात्र दोषी नभई अख्तियार प्रमुखमा लोकमानलाई ल्याउने मुख्य दलहरु समेत दोषी भएको उनको भनाइ थियो ।
कार्यक्रममा भक्तपुर अदालतका जिल्ला न्यायाधीश लिप्तबहादुर थापा, प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, प्रहरी उपरीक्षक किरण बज्राचार्यलगायतको सहभागिता थियो ।











