१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातसहितका आयुक्तले भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा वुधबार भएको भेटवार्तामा प्रमुख आयुक्त लोकमानसिंह कार्कीवरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछिको अवस्थाका विषयमा केन्द्रित रहेको थियो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नियमित भेटघाटअन्तर्गत आजको भेट भएको बताए । भेटमा प्रधानमन्त्रीले स्वायत्त र स्वतन्त्र निकायको रुपमा आफ्नो काम जारी राख्न आयोगलाई आग्रह गर्नुभएको आचार्यले जानकारी दिए ।
प्रधानमन्त्रीले आयोगको कामकारबाहीमा राजनीतिक दल र सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
गत कात्तिक ३ गते प्रमुख आयुक्त कार्कीविवरुद्ध संसद्मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्रका १५७ सांसदले महाभियोगको प्रस्ताव दर्ता गरेपछि कार्की निलम्बित छन् । हाल वरिष्ठताको आधारमा बस्न्यातले कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हालिरहेका छन् ।












