९ कात्तिक, काठमाडौं । आर्थिक वर्ष २०७३/०७४ असोज मसान्तसम्मको राजस्व संकलनमा गत वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७३/०७४ असोज महिनासम्मको राजस्व संकलनको लक्ष्य रु. ४० अर्व २८ करोड ५५ लाख १९ हजार रहेकोमा रु. ४१ अर्व ३७ करोड २८ लाख ६९ हजार संकलन भई लक्ष्यको तुलनामा १०३ प्रतिशतको प्रगति भएको छ ।
शिर्षकगत रूपमा हेर्दा आयकर तर्फ रु. १७ अर्व १६ करोड ७२ लाख ३३ हजार, मूल्य अभिवृद्धि कर रु. १४ अर्व ५७ करोड १ लाख ८७ हजार र अन्तःशुल्क तर्फ रु. ९ अर्व २२ करोड ४३ हजार संकलन भएको छ । सो रकम लक्ष्यको तुलनामा आयकर तर्फ ११० प्रतिशत, मूल्यअभिवृद्धि कर तर्फ १०२ प्रतिशत र अन्तशुल्क तर्फ ९३ प्रतिशत हो । त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः रु. १७ करोड ३७ लाख ६८ हजार र रु. २४ करोड १६ लाख ३८ हजार संकलन भएको छ ।
शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा ९६ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ८३ प्रतिशत संकलन भएको छ । गत वर्षको तुलनामा आयकर वृद्धिदर १३८ प्रतिशत, मूल्य अभिव ृद्धि कर वृद्धिदर १२३ प्रतिशत, अन्तशुल्कको वृद्धिदर १६८ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर १२९ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १३३ प्रतिशत रहेको छ ।















