६ कात्तिक, काठमाडौं । अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाइए उनलाई नियुक्त गर्ने तत्कालीन मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मी र सिफारिश गर्ने प्रमुख तीन दलका शीर्ष नेता पनि कारवाहीमा पर्ने दावी महाअभियोग सिफारिश समितिका एक सदस्यले बताएका छन् । राप्रपा नेपालका प्रमुख सचेतक तथा महाअभियोग सिफारिश समितिका सदस्य दिलनाथ गिरीले नियुक्ति पाउने कार्कीभन्दा उनलाई नियुक्त गर्ने व्यक्ति दोषी हुने प्रतिक्रिया नेपालदेशडटकमलाई दिएका हुन् । नेपालदेशडटकमसँग कुराकानी गर्दै गिरीले कार्कीलाई महाअभियोग लगाइए शीर्ष नेता कारवाहीबाट नबच्ने चेतावनी दिए ।
निजामती सेवामा २० वर्ष सेवा गरेको व्यक्तिलाई मात्रै अख्तियार प्रमुखमा नियुक्त गर्ने व्यवस्था रहेकोले कार्की त्यसका लागि अयोग्य रहेको भनी सर्वोच्च अदालतले मुद्दा चलाई रहेका वेला गिरीले कार्कीको वचाउमा अभिव्यक्ति दिएका हुन् । कार्कीले निजामती सेवामा १३ वर्ष मात्रै कार्य गरेकोले उनी प्रमुख आयुक्त हुन अयोग्य भएको भनी उठेको प्रश्नको जवाफ दिँदै गिरीले भने योग्यता नपुगेको व्यक्ति नियुक्त हुनुमा उसको दोष नभई उपयुक्त भनी नियुक्त गर्ने व्यक्ति दोषी हुन्छ ।
सिफारिश समितिले अनुसन्धान गरेर संसदमा विवरण पेश गर्न बाँकी रहेकोले कार्कीमाथिको महाअभियोग प्रस्ताव अगाडि बढाउन हुने या नहुने भन्ने विषयमा अहिले नै आफूले ठहर नगर्ने जवाफ गिरीले दिए ।
संसदमा पेश भएको महाअभियोगसम्बन्धि प्रस्तावको टुंगो लगाउन भने कम्तीमा दुई महिनाको समय लाग्ने उनले बताए ।













