२ कात्तिक, काठमाडौं । एमाले उपाध्यक्ष भीम रावलले आफूले अमेरिकी राष्ट्रपतिसँग फोटो खिच्दा हल्ला नगरेको तर प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपतिसँग बसेर फोटो खिच्दा धेरै हल्लाखल्ला गरेको बताएका छन् । रिपोर्टर्स् क्लबमा आज आफ्नो धारणा राख्दै रावलले भने – ‘गोवामा पुगेर चीनका राष्ट्रपति सि जिन पिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग बसेर तस्वीर खिच्दैमा छिमेकीसँगको सम्बन्ध सुध्रिएको दावी प्रचण्डजीले गर्नुभयो । तर, उहाँको गोवा भ्रमणले नेपाललाई कुनै फाइदा पगेको छैन ।’
संविधान संशोधनका विषयमा प्रधानमन्त्रीले एमालेसँग कुनै औपाचारिक छलफल नै नगरी बाहिरबाहिर झ्याली पिटेको आरोप पनि रावलले लगाए । संविधान संशोधनको झ्याली पिटिएको बारेको औचित्य र आवश्यकता पुष्टि गर्न एमालेले आग्रह गरेको तर त्यसको औचित्य सरकारले पुष्टि गर्न नसकेको उनले दावी गरे ।
बाह्य शक्तिको इसारा र कसैको नेतृत्वमा संविधान संशोधन हुन नसक्ने चेतावनी समेत उनले दिए ।












