वलिउड स्टार प्रियंका चोपडाले आफ्नो संवेदनशील अंगमा पर्ने गरी असंवेदनशील कुरा लेखेपछि चर्को विवादमा परेकी छिन् । एक म्यागजिनका लागि खिचेको तस्वीरमा उनको वक्षस्थलमा पर्ने गरी लेखिएको ‘रिफ्युजी’ शब्दलाई रातो मसीले काटेका कारण उनी विवादमा मुछिएकी हुन् । ‘रिफ्युजी’लाई काटेका कारण चोपडा र उक्त म्यागजिनले माफी समेत माग्नु परेको छ ।
ट्राभलर म्यागजिनको आवरणमा छापिएको प्रियंकाको यस्तो तस्वीरलाई असंवेदनशील भनी सामाजिक संजालमा आलोचना भएपछि उनले माफी मागेकी हुन् ।
यस तस्वीरमा प्रियंका चोपडाको टप पहिरनमा माइग्रेन्ट, रिफ्युजी, आउटसानइडर र ट्राभलर शब्द लेखिएको छ र यी शब्दहरुमध्ये पहिला तीन शब्द रातो धर्कोले काटिएको छ ।
पिंयंका चोपडा र म्यागजिन दुवैलाई यो तस्वीरका कारण आलोचना गर्नुको कारण रिफ्युजी अर्थात् शरणार्थीलाई अस्वीकार गर्नु वा स्थान नदिनु हो । कोही पनि मानिस आफ्नो ईच्छा र खुशीले रिफ्युजी अर्थात् शरणार्थी बन्न चाहँदैन । त्यो त उसको बाध्यता हो । यस्ता बाध्यतामा परेकालाई प्रियंका र ट्राभलर म्यागजिनले अवहेलना गरेको भन्दै सामाजिक संजालमा तीव्र आलोचना भएको थियो ।














