२७ असोज, काठमाडौं । पराष्ट्रविद् तथा पूर्वराजदूतहरुले चीनीयाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित हुनुमा नेपाल सरकार असफल भएको टिप्पणी गरेका छन् । राजधानीमा विहीबार आयोजित साक्षात्कारमा बोल्दै पराष्ट्रविद् तथा पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले वर्तमान सरकार कुटनीतिक मामिलामा असफल भएको आरोप लगाएका हुन् ।
वर्तमान सरकारले आफ्नो यो असफलतालाई मध्यनजर गर्दै भारतको गोवामा हुने व्रिक्स सम्मेलनमा भाग लिन जाँदा प्रधानमन्त्रीले सम्बन्ध प्रगाढ बनाउनुपर्ने सुझाव परराष्ट्रविद्हरुले दिए । परराष्ट्रविद् मधुरमण आचार्यले चीनीयाँ राष्ट्रपति सि जिनपिङ्सँग हुने भेटलाई अवसरको रुपमा परिणत गर्नुपर्ने सुझाव दिए । ब्रिक्स सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले चीनीयाँ राष्ट्रपति सिलाई भ्रमणको बारेमा स्पष्ट पार्न सक्नुपर्ने आचार्यले बताए । उनले दक्षिण एशियालाई कनेक्टिभिटीमा जोड दिनको लागि व्रिक्स सम्मेलनमा नेपालको तर्फबाट विशेष कुरा राख्न सक्नुपर्ने सुझाव समेत दिए।
त्यस्तै पूर्वराजदुत डा. शंकर शर्माले पछिल्लो समय नेपालको पराष्ट्र नीति सन्तुलित नभएको भन्ने आंशकाहरु पैदा भएको उल्लेख गर्दै यसबारेमा प्रधानमन्त्रीले चीनीयाँ राष्ट्रपतिलाई आश्वस्त पार्न सक्नुपर्ने बताए ।
कार्यक्रममा अर्का पराष्ट्रविद् डा. निश्चलनाथ पाण्डेले आठौं व्रिक्स सम्मेलनमा नेपालको तर्फबाट प्रधानमन्त्रीले भाग लिन पाउनु ठूलो अवसर भएको उल्लेख गरे ।












