२७ असोज, काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विभिन्न चाडपर्वका अवसरमा असोज २९ गते शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा नजाने भएका छन् । ब्रिक्स बैठकमा जाने निहुँ बनाएर प्रचण्ड एमालेको चियापानमा नजाने भएका हुन् ।
प्रचण्ड प्रधानमन्त्री भए यता एमाले अध्यक्षसँग खासै कुराकानी भएको छैन । यी दुई नेताहरुवीच फोन सम्वाद समेत नभएका समाचारहरु पटक–पटक बाहिर आएका छन् । दुई नेताबीच अनौपचारिक छलफल भैरहेको दावी माओवादीले गर्दै आए पनि दुईबीच सम्बन्ध नसुध्रिएको यो अवस्थाले पुष्टि गरेको छ ।
एमालेका शीर्ष नेताहरुले भने प्रधानमन्त्री दाहाललाई चियापानको लागि निम्तो पठाईसकेका थिए । तर प्रधानमन्त्री भारतको गोवामा हुने व्रिक्स सम्मेलनमा भाग लिन जाने कार्यक्रम रहेकोले उक्त चियापान कार्यक्रममा सहभागी हुन नसक्ने बताइएको छ । एमालेले वर्षेनी दसैंको कोजाग्रत पूर्णिमाका दिन चियापान गर्दै आएको छ । अध्यक्ष केपी ओलीले बडा दसैं, तिहार, नेपाल संवत ११३७, छठ, ल्होसार, उधौलीलगायत चाडपर्वका अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन सबैलाई आह्वान गरेका छन् ।
पार्टी कार्यालय धुम्बाराही अगाडिको शंखपार्कमा कार्यक्रम आयोजना गरिने एमालेले उल्लेख गरेको छ । दिउँसो १२ देखि ३ बजेसम्म हुने कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कर्मचारी, कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधि, सुरक्षा निकाय, नागरिक समाज, पत्रकार लगायतलाई निमन्त्रणा गरिएको छ । उता प्रमुख दल नेपाली कांग्रेसले भने तत्कालीन सभापति सुशील कोइरालाको निधन भएको एक वर्ष नपुगेकाले यस पटक चियापान र शुभकामना आदानप्रदानको औपचारिक कार्यक्रम नगर्ने निर्णय गरिसकेको छ ।












