२७ असोज, काठमाडौं । नेपाललाई हिन्दू राज्य बनाउने आश्वासन भारतलाई दिँदै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापा अहिले चीनतिर नजिकिने कोसिस गरेका छन् । भारतले थापालाई विश्वास गर्न छाडेको र वर्तमान सरकारमा सामेल दल भारतसँग नजिकिएका कारण थापा चीनतिरको सम्बन्ध बढाउने कसरतमा लागेका हुन् ।
यही कसरतस्वरुप प्रधानमन्त्री ब्रिक्स बैठकमा भारत जानुअघि पूर्ववर्ती ओली सरकारका उपप्रधानमन्त्री कमल थापा भने चीनतिर लागेका छन् । ओली सरकारले भारतसँग दूरि बढाएर चीनसँग सम्बन्ध बढाएको थियो । वर्तमान सरकार भारतको निकट भएका कारण पूर्ववर्ती सरकारमा सामेल दलसँग चीनले छलफललाई निरन्तरता दिएको छ । सोही कारण चीन सरकारको निमन्त्रणामा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा बिहीबार चीनतिर गएका हुन् ।
चिनियाँ सरकारको मैत्रीपूर्ण निमन्त्रणामा तिब्बत गएका थापाा थापा ६ दिनसम्म चीन घुम्नेछन् । उनले चिनियाँ हेलिकोप्टरमा कैलाश मानसरोवर घुम्ने कार्यक्रम तय भएको छ ।
थापा बिहीबार बिहान ११ बजे ल्हासातर्फ लागेका हुन् । थापासँगै उनकी श्रीमती प्रलिसा थापा, छोरा सुवास थापा, बहिनी र राप्रपा नेपालका कोषध्यक्ष उद्धव पौडेल चीन गएका छन् । अध्यक्ष थापा शुक्रबार सिगात्से जाने कार्यक्रम छ ।
चीनको उच्च राजनीतिक भेटवार्ताको कुनै कार्यक्रम नभएको बताइए पनि थापाले तिब्बतमा केही नेतासँग राजनीतिक वार्ता गर्ने जनाइएको छ । चीनले नेपालका राजनीतिक दलका नेतासँग तिब्बतमा गोप्य रुपमा छलफल गर्ने गरेको छ । चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएपछि यसअघि उपप्रधानमन्त्री कृष्णबहादुर महरा पनि तिब्बत पुगेर राजनीतिक भेटवार्ता गरेर फर्किएका थिए ।












