२४ असोज, काठमाडौं । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार र भारतबीच दूरि बढेका कारण खुशी हुँदै नेपाल भ्रमण गर्न लागेका चिनियाँ राष्ट्रपति सि जिनपिङ सरकार परिवर्तनपछि बंगलादेशतिर मोडिएका छन् । प्रचण्ड नेतृत्वको सरकार भारतको योजनामा बनेको ठहर गर्दै चिनले नेपालप्रति असन्तुष्टी देखाउँदै आफ्ना राष्ट्रपतिलाई बंगलादेश र कम्बोडियाको भ्रमणमा पठाउने भएको हो ।
भारतको गोवामा आगामी साता हुने ब्रिक्स सम्मेलनमा जाने क्रममा नेपालको भ्रमण गर्ने योजना बनाएका चिनियाँ राष्ट्रपति जिनपिङले त्यही समयमा कम्बोडिया र बंगलादेशको भ्रमण गर्दै नेपालप्रति असन्तुष्टीको सन्देश दिन खोजेका छन् ।
ब्रिक्स सम्मेलनमा गोवा जाने क्रममा उनले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने सन्देश पनि पहिले नै पठाइसकेका छन् ।
चिनियाँ विदेशमन्त्रालयका अनुसार सिले अक्टोबर १३ बाट दुई देशको भ्रमणको शुरुवात गर्ने छन् । चिनियाँ राष्ट्रपतिले ३० वर्षपछि बंगलादेशको भ्रमण गर्न लागेका हुन, दुई देशको बिचमा केही महत्वपूर्ण सम्झौताको तयारी भइरहेको छ ।
दक्षिण एसियाली मुलुकमा आफ्नो प्रभाव जमाउने योजनाका साथ चिनले बंगलादेशलाई प्राथमिकतामा राखेको विश्लेषकहरु बताउँछन् । भारतको प्रत्यक्ष प्रभावमा रहेका नेपाल भुटानलाई चीनले त्यति चासो नदिएको उनीहरुको ठहर छ । यद्यपि नेपाल भने चिनका लागि अत्यन्त महत्वको देश भएकोले उसले दीर्घकालीन रुपमा नेपालप्रति असन्तुष्टी जनाउने देखिँदैन ।
आगामी हप्ता भारतको गोवामा हुने ब्रिक्स सम्मेलनमा नेपालसहित बिमस्टेकका ६ सदस्यहरु समेत सहभागी हुने छन् । भारतको नेतृत्वमा हुन लागेको सो सम्मेलनमा बिमस्टेकका सदस्य राष्ट्रहरुलाई आउटरिच कार्यक्रममा सहभागी गराउन लागिएको हो । मुख्यतः बिमस्टेकको केही कनेक्टीभिटी परियोजनाहरुलाई ब्रिक्सले सहयोग गर्ने सम्भावना रहेको छ ।
सो सम्मेलनमा नेपाल लगायत ११ देशका सरकार प्रमुखहरुको सहभागिता रहने छ । १५ अक्टोवरमा ब्राजिल, रसिया, भारत, चीन र साउथ अफ्रिकामा ब्रिक्स सम्मेलन भएपनि अक्टोबर १६ मा सो सम्मेलनको आउटरिच कार्यक्रम अन्तर्गत बंगलादेश, भुटान, नेपाल, श्रीलंका, म्यानमार र थाइल्याण्ड सम्मिलित बिमस्टेक सहितको सम्मेलन हुने छ । ब्रिक्सको रिट्रिटमा बिमस्टेकका सदस्य राष्ट्रका प्रमुखहरुलाई सहभागी गराउन लागिएको हो ।
सो सम्मेलनमा सार्कका चारवटा मुलुकहरु सहभागी हुन लागेकोले पाकिस्तानलाई एक्ल्याएको सन्देश भारतले दिन चाहेको छ भने पाकिस्तानप्रति चिनको निकटताले भारतलाई तनाव दिइरहेको छ ।












