२४ असोज, काठमाडौं । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्ट्राचारले सिमा नाघेको तथ्य फेला परेको छ । प्रतिष्ठानका उपकुलपति प्रा डा बलभद्रप्रसाद दास र रजिष्ट्रार तुलबहादुर श्रेष्ठले व्यापक आर्थिक अनियमितता गरेका विभिन्न तथ्य सतहमा आएका हुन् । उपकुलपति दासले महिनामै १० करोड भ्रष्ट्रचार गर्ने गरेको तथ्य सतहमा आएको हो । यस्तो भ्रष्ट्राचार भैरहँदा समेत अख्तियारले प्रतिष्ठानको अनियमिततामाथि कुनै कारवाही नगर्नुलाई रहस्यको विषय मानिएको छ । हरेक दलका नेतालाई मोटो रकम बुझाएर दासले आफ्नो पद जोगाउने गरेको आरोप समेत लाग्दै आएको छ । पाँच वर्ष कार्यकाल सकिन लागेका दासले करोडौं रुपैयाँ बुझाएर फेरि उपकुलपतिमा नियुक्ति पाउने कसरत जारी राखेका छन् । पढ्नुहोस् विस्तृतमा :
देशका मेडिकल कलेजहरुमा अनुसन्धानको नाममा हस्तक्षेप गर्ने तर, कारवाहि नगर्ने भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि लाग्न थालेको आरोप धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हकमा पनि लागु भएको छ ।
प्रतिष्ठानका उपकुलपति प्रा.डा. बलभद्र प्रसाद दास र रजिष्ट्रार तुलबहादुर श्रेष्ठले व्यापक आर्थिक अनियमितता गरी प्रतिष्ठानलाई धरासायी बनाउन लागेको भनि विभिन्न पत्रपत्रिकामा आएको समाचार र लिखित उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुर्वी क्षेत्रीय कार्यालय इटहरीले छापा मारेर अनुसन्धान थालेको एक वर्ष भयो । तर, सो अनुसन्धानको फायल अहिलेसम्म अघि बढ्न नसक्नुमा अख्तियारका आयुक्तहरुको लेनदेनले काम गरेको बाहिर आउन थालेको छ । यसका लागि डा. दासले अख्तियारका आयुक्तहरुलाई झण्डै ३ करोड बाँडेको र केहिलाई एमविविएस, एमडि र एमडिएस तहमा विद्यार्थी भर्ना गरिदिने आश्वासन दिएको वताईन्छ ।

यस पटक प्रतिष्ठानमा नयाँ नियम लागेको तपाईहरु मध्ये कतिले थाहा पाउनु भयो ? पोहोरसम्म पूरा पैसा तिर्ने कोटामा नेपाली नागरिक पनि सहभागी हुन पाउंथे । यो वर्ष भने नेपाली नागरिक सहभागी हुन नपाउने गरी त्यसलाई परिवर्तन गरिएको छ । अब भने नेपाली नागरिकहरुले ठुलो छुट र आधा छुट योजना (हेभिली सब्सिडाइज्ड र पार्सियल्ली सब्सिडाइज्ड ट्युसन फि स्किम) मा मात्र सहभागी हुन पाउने छन् । यदि कुनै नेपालीले ६५ लाख तिरेर भए पनि पढ्न चाहनेलाई अब अवसर नमिल्ने भएको छ । तर, भारतीय नागरिकका लागि आरक्षित दुवै स्किमका गरी कूल १० सिट भने कायम छन् । त्यसो त प्रतिष्ठानको कूल सिट भने यो वर्ष घटेको छ । यसरी नेपालीहरुको कोटा कटाएर उपकुलपतिले किन आत्मघाती काम गरे ? प्रतिष्ठान श्रोतका अनुसार आफनो कार्यकाल सकेर हिँड्न लागेका उपकुलपतिले दिल्लीमा आफनो ससुरालाई एजेण्टको रुपमा प्रयोग गरी भारतीय विद्यार्थीको कोटा बढाएर पैसा कमाउने धन्धामा लागेको श्रोतको दावि छ ।
४ वर्ष अघिपनि उपकूलपति दासले एमविविएस र एमडिको प्रवेश परीक्षामा भारतीय विद्यार्थीसँग पैसा खाएर अनियमितता गरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपकूलपति, शिक्षाध्यक्ष र डिनलाई पक्राऊ गरी काठमाडांै लगेको थियो । तर, अख्तियारका कर्मचारीहरुलाई प्रलोभनमा पारी उनिहरु उम्किएका थिए । यस पटक पनि अख्तियारले छापा मारेर भ्रष्टाचार भएको प्रमाणहरु नै फेला पारे पनि मुद्दा चलाउन सकेको छैन । यस बारेमा अख्तियारको केन्द्रीय कार्यालयमा जानकारी माग्दा प्रतिष्ठानका फायलहरु केन्द्रिय कार्यालयमा नै आई नपुगेको अख्तियार श्रोतको दावि छ । यता अख्तियार ईटहरी शाखाका एसपी लालमणी आचार्य भने उजुरी आउने क्रम रहेको र अनुसन्धान पनि जारी रहेको दावि गर्छन् ।
ठेक्का पट्टामा भीसीको दादागिरी

आफनो मान्छेले ठेक्का पाए प्रतिष्ठानलाई जतिनै धाटा भए पनि सदर हुने तर, कमिसन नपाएमा जति नै नियम पु¥याएर टेण्डर हाले पनि बदर गर्ने उपकुलपति दासको दादागिरीले वीपी प्रतिष्ठानमा ठेक्काको टेण्डर हाल्ने ठेकदारहरु पनि आजित हुन थालेका छन । गत जेठ महिनाको २४ र २७ गते अस्पतालको औषधी पसलको भवन र सडक निर्माणको लागी टेण्डर आव्हान गरिएको थियो । करिब ६ करोड रुपैंयाको सो टेण्डर श्रावण ६ गते खोलियो जसमा ७ वटा कम्पनीहरुलाई उछिन्दै आशिष निर्माण सेवाले अन्य कम्पनीको दाँजोमा १५ प्रतिशत कम रकममा ठेक्का पारेको थियो । ई–टेण्डरबाट खोलिएको सो ठेक्काबाट उपकुलपति दासले एक पैसा कमिशन नपाउने भएपछि बिना कारण श्रावण १८ गते कान्तिपुर दैनिकबाट टेण्डर रद्ध गरिएको सुचना
निकालियो । टेण्डर परेर सम्झौताका लागि बोलाउँछन् कि भनेर बसेका आशिष निर्माण सेवाका ठेकेदार प्रतिष्ठानले बिनाकारण रद्ध गरेको सुचना पाएर रन्थनिएका छन् । ‘किन ठेक्का रद्द गरियो ? भनि हामी सोध्न गएका थियौं, प्रतिष्ठानले तपाईहरुको कागजपत्र पुगेन मात्र भनियो तर, कस्तो कागजपत्र भन्दा त्यसको कुनै जवाफ पाईएन’ आशिष निर्माण सेवाका एक कर्मचारीले बताए । उनले यस बारेमा चित्त बुझ्दो जवाफ नआएमा अदालत जाने तयारी गरेको बताए । ‘यो त उपकूलपतिको हदैसम्मको दादागिरी हो, पहिलो कम्पनीको डकुमेन्ट नपुगेमा टेण्डर रद्ध गर्ने होईन, दोश्रो कम रकम कबोल गर्ने कम्पनीलाई ठेक्का दिने प्रावधान छ ।’ धरानका एक ठेकेदारले बताए । यस अघिपनि उपकुलपति दासले धेरै पटक विनाकारण टेण्डर रद्द गरेर ठेकदारहरुलाई दुखः दिने काम गरेका थिए । प्रतिष्ठान श्रोत अनुसार यस पटकको ठेक्कामा प्रतिष्ठान भित्र उपकूलपतिले नै पालेर राखेको उपकूलपतिको ‘खास मान्छे’ इन्जिनियर सुशिल कुमार झाको कम्पनीले पनि टेण्डर हालेको थियो, तर उसको कम्पनीले पाउन नसके पछि यो षड्यन्त्र गरिएको हो ।
को हुन शुशिल कुमार झा ?
६ वर्ष अघि प्रतिष्ठानको होष्टल निर्माण गर्दा श्रेष्ठ कन्स्ट्रक्सनले इन्जिनियरको रुपमा ल्याएको सप्तरी निवासी सुशिल कुमार झा निर्माण सकिए पछि पनि निरन्तर प्रतिष्ठानमा वस्दै आएका छन् । हाल उनी प्रतिष्ठानको ई टाईपको भवनको कोठा नं१६मा अवैध रुपले सपरिवार वस्दै आएका छन् । कर्मचारीले पनि नपाएको कोठामा गैर कर्मचारीलाई उपकुलपति दासले जुवाई सरह सुविधा दिएर राखेका छन् । झा प्रतिष्ठानको ठुल्ठुला निर्माण कार्यमा‘दलाल’को काम गर्दै आएका छन् । ४ वर्ष अघि लामा कन्स्ट्रक्सन कम्पनीले निर्माण गरेको प्रतिष्ठानको एकेडेमिक भवनमा यीनै झाले कमसल सामग्री हालेर ठुलो आर्थिक घोटला गरेका थिए । तर, उपकुलपति सँगको मिलोमतोमा झालाई कतैबाट कारवाहि भएन, बरु उल्टै डा. दासले ‘ज्वाईको संज्ञा’ दिँदै प्रतिष्ठान भित्रै कोठा दिएर बस्ने व्यवस्था मिलाउँदै ठेक्कापट्टाका काममा ‘दलाली’ गर्ने काममा राखेका छन् ।
६ महिना अघि प्रतिष्ठानको औषधी पसलको भवन निर्माण गर्न स्थानिय कांग्रेसका कार्यकर्ता सन्तोष विकसँग मिलेर झाले टेण्डर हालेका थिए । करिब दुई करोड रुपैयाँको सो ठेक्का उनले पाएर काम पनि शुरु गरी सकेको अवस्थामा भवनको नक्सा परिवर्तन हुने भएपछि काम रोकेर अर्को टेण्डर आव्हान गरिएको थियो । त्यसपछि बजेट बढाएर ६ करोड पुगेको सो भवनको टेण्डर ७ वटा कम्पनी सहभागि भएकोमा झाको कम्पनीले पनि टेण्डर हालेकोमा उसलाई नपरेपछि अहिले विधिपुर्वक ठेक्का पाएको कम्पनीलाई पनि नदिने मनसायले रद्द गरिएको छ । झाले यस अघि ठेक्का पाएर खाल्डो खन्न थालिएको काममा प्रतिष्ठानकै कारण नोक्सान भएको भनि हर्जाना स्वरुप ३० लाख रुपैंया प्रतिष्ठानबाट भुक्तान लिएका छन् । बिना योजना नक्सा बनाएर पछि रद्द गरी ३० लाख नोक्सान पु¥याउने प्रतिष्ठानका अधिकारीहरु, इन्जिनियर वा कन्सल्टेन्सीलाई नेपाल सरकारको नियमनकारी निकायले किन कारवाहि गर्न सक्दैन ? सरकारी कार्यालयका फाइल पल्टाउने महालेखा परिक्षक यो विषयमा किन बोल्न चाहँदैन ? प्रतिष्ठान, धरानबासी सबैको प्रश्न छ ।
प्रतिष्ठानको हाता भित्रको दिल्ली पव्लिक स्कुलले जति पनि निर्माणका कामहरु टेण्डर नै नगराई तीनै शुशिल झालाई दिने गरेको छ । हालै मात्र त्यस विद्यालय हाता भित्र निर्माण भएको झण्डै एक करोडको कार्यालय भवन पनि उनैले पाएका थिए । जवकि सो विद्यालय भित्र निर्माण गरिने हरेक कामहरुको निर्णय प्रतिष्ठानका उपकुलपतिले गर्नु पर्ने नियम छ ।
यसरी प्रतिष्ठान भित्र ‘ज्वाई’ सरह बस्दै दलाली गर्ने झाको बारेमा अख्तियारका पुर्व निर्देशक डुल्लुराज बस्नेतले उपकुलपति दासलाई कार्यालयमा बोलाएर झालाई किन राखिएको ? तुरुन्त निकाल्न आदेश दिएपनि उपकुलपति दासले अख्तियारको निर्देशनलाई ‘माखो’ गनेका छैनन् ।
इन्जिनियर विभागको काम छैन
‘काम सपार्न पुराना इन्जिनियरहरुलाई ‘महाभारत’
यस विभागमा रजिष्ट्रार तुलबहादुर श्रेष्ठले कट्टर एमाले कार्यकर्ता इन्जिनियर मदन शाहलाई नियुक्त गरेर ठेक्कापट्टाको सेटिङ मिलाउने जिम्मा दिएका छन् ।
दुई सय विस करोडमा हाल निर्माणाधिन एम.सी.एच. भवनको कन्सल्टेन्ट नियुक्ति गर्दा केज कन्सल्टेन्सीका बिष्णु पन्थीसँगको मिलेमतोमा निजले कार्यकारिणी समितिले तोके भन्दा भिन्न मापदण्डको बोलपत्र सार्बजनिक सुचनामा पठाएको सम्बन्धमा कारबाहीको लागि बनेको छानबिन समितिले निजलाई कारबाहीको सिफारिस गरेता पनि रजिस्ट्रार श्रेष्ठको दबाबमा कारबाही हुन सकेको छैन ।
प्रतिष्ठानले पालेर राखेका पुराना झण्डै ७ जना ईन्जिनियर ५ जना ओभरसियरलाई रजिष्ट्रारले कुनै कामै नदिई राखेका छन् । प्रतिष्ठानमा हरेक वर्ष करोडौं रुपैयाको भवन निर्माणका कामहरु कन्सल्टेन्सी र ठेकदार मार्फत भईरहेको छ । तर, ति कन्सल्टेन्सी र ठेकदारले गरेका कामको अनुगमन प्रतिष्ठानकै पुराना इन्जिनियरहरुले गर्न पाएका छैनन् । कतिपय ठेकदारले यस्तरी काम विगारेर गएका हुन्छन् की त्यो काम सपार्न प्रतिष्ठानका पुराना इन्जिनियरहरुलाई ‘महाभारत’ लाग्ने गरेको छ । शुरुमा नै मोटो कमिशन खाएर राखिएको कन्सल्टेन्सी र ठेकदारलाई अनियमितता गर्न छुट दिनकै लागि प्रतिष्ठानका इन्जिनियरहरुलाई ‘वाईपास’ गर्ने गरेको प्रतिष्ठानका इन्जिनियरहरु भन्दछन् ।
कर्मचारी नियुक्तिमा व्यापक धाँधलि
‘२ सय कर्मचारीहरुलाई ‘चोर बाटो’ बाट नियुक्ति’
उपकुलपति भएर प्रतिष्ठानमा आए देखि डा. दासले आफ्नो गाउँ सप्तरीका र रजिष्ट्रार श्रेष्ठले धरानका आफन्त मानिसहरुलाई विभिन्न पद श्रृजना गरी आफनो खुसीले भर्ना गर्ने गरेका छन् । हालै मात्र डा. दासले १२ जना कम्प्युटर क्लर्कको पदमा १० जना तराईमुलका आफन्तहरुलाई भर्ना गरेका छन् । तत् पश्चात धरानका ब्यापारी गोपाल श्रेष्ठ (जो प्रतिष्ठानको सरसफाई र छापाखानाका सबै ठेक्का पार्छन्) सँग दुई लाख लिएर रजिष्ट्रार श्रेष्ठले बैकल्पिक सुचिमा रहेका २१ जनालाई समेत जागिर दिईसकेका छन् । उनीहरुलाई भर्ना लिन डा. दासले आफ्नै भतिज प्रतिष्ठानका कम्प्युटर विभाग प्रमुख राकेश दासलाई अन्तरवार्ताकार बनाएका थिए । तर, भर्ना गरिएका नयाँ कर्मचारीहरुले नेपाली र अंग्रजी टाईप समेत गर्न नसक्ने भएपछि उनीहरुलाई अन्य कामहरुमा राख्न थालिएको छ । प्रतिष्ठानमा बिगत ७ वर्ष देखि पत्रपत्रिकामा सुचना प्रकाशित गरेर कर्मचारी भर्ना लिईएको थिएन । तरपनि डा. दासले झण्डै २ सय कर्मचारीहरुलाई ‘चोर बाटो’ बाट नियुक्ति गरी सकेका छन् । ति मध्ये अधिकांश आफनो जिल्ला सप्तरीका छन् भने, बाँकी राजनीतिक दलहरुको सिफारिसबाट आएका छन् । यतिसम्मकी वीस लाख लिएर स्थाई नियुक्ति पाएकी चार्टर्ड एकाउटेन्ट रुपा अग्रवालकै पदमा परीक्षा दिई बैकल्पिक सुचिमा रहेका जोगमेहर श्रेष्ठलाई चार्टर्ड एकाउण्टेन्टमा नभई मेनेजरको नयाँ पद सृजना गरी लिइएको छ । जबकी मेनेजर पदमा नियुक्ति गर्न कुनै विज्ञापन खुलाईएको थिएन । यस बारेमा अख्तियारमा समेत उजुरी परेको बताईन्छ । यसरी जथाभावी पदहरु श्रृजना गरी आफ्नै गृहजिल्लाका ब्यक्तिलाई जागीर दिलाएर सप्तरीमा लोकप्रिय बन्न खोज्ने दास र सकेसम्म पैसा कमाउने रजिष्ट्रार श्रेष्ठको उद्देश्य भनेको ‘राजनीति’ गर्नु हो । डा. दास ‘सके प्रतिष्ठानमा पुनः एक कार्यकाल उपकूलपति, नसके कुनै यूरोपियन देशको राजदूत, त्यो पनि नसके गृहजिल्लाबाट राजनीति गर्दै सांसद र मन्त्री बन्ने सपनामा छन् । श्रेष्ठ भने पहिला ‘पैसा कमाएर राजनीति गर्ने दाउमा छन् । यसका लागि दास र श्रेष्ठले प्रतिष्ठानलाई ‘दुहुनो गाई’ बनाएका छन् ।
कर्मचारीका नक्कली सर्टिफिकेट
‘कर्मचारीहरुको शैक्षिक प्रमाण पत्र भारतको बीरपुरवाट’

प्रहरीले प्रतिष्ठानका डाक्टरहरुको शैक्षिक प्रमाणपत्र खोज्दै हिँडे पनि कर्मचारीहरुको चाहिँ किन नखोजेको होला ? चासोको विषय वनेको छ । जवकि, प्रतिष्ठान भित्र ल्याव र कम्प्युटर बिभागमा काम गर्ने अधिकांश कर्मचारीहरुको शैक्षिक प्रमाण पत्र भारतको बीरपुरवाट निकालिएको नक्कली प्रमाण पत्र छन् । डा. दासका आफनै भतिज इन्जिनियर विभागका प्रमुख राकेश दासको पनि शैक्षिक प्रमाण पत्र नक्कली भएको बताईन्छ । डा. शेखर कोईराला उपकुलपति भएको बेला प्रतिष्ठानमा नक्कली प्रमाण पत्रधारीहरुको छानविन हुँदा धेरै कर्मचारीहरुले जागिर छाडेर गएका थिए । हाल प्रतिष्ठानको ठुलासाना सवै पदहरुमा ९० प्रतिशत तराईमुल कै मानिसहरुलाई भर्ना गर्न थालिएपछि नक्कली प्रमाणपत्रधारीहरुको मनोवल बढ्न पुगेको छ ।
प्रतिष्ठान अस्तव्यस्त
‘कांग्रेस नेता बिमलेन्द्र निधिलाई उपकुलपति बिरुद्ध उजुरी’
प्रतिष्ठानलाई अतिविशिष्ठ सुविधा सम्पन्न बनाउने नारा दिएर सरकारबाट पैसा झार्न सफल भएपनि प्रतिष्ठान भित्र भेन्टीलेटर नपाएर बाहिर लैजादा लैजादै वाटोमा मृत्युवरण गर्ने विरामीको संख्या दिनप्रतिदिन बढ्दो छ । पोहोर साल प्रसुति गृहमा बस्ने सिट नपाएर बाहिरै वच्चा जन्माएर महिलाको मृत्यु भएपनि नचेतेको प्रतिष्ठानको प्रशासनले मृत्युको मुखैमा पुगेको बेला उपचार गराइने आईसियु, सिसियु जस्ता अति मह्त्वपुर्ण कक्षको विस्तार र भेन्टिलेटर जस्ता उपकरणहरु थप्न नसक्दा पूर्वाञ्चलको भ्रष्टाचार सेन्टर भएको छ । तर, कमिशनको खेलमा परेका उपकुलपतिले प्रतिष्ठानमा भईरहेको एमआरआई, क्याथल्याग जस्ता अति महंगा मेशिनहरु भर्खरै खरिद गरेका छन् । उपकरण खरिद गर्नु पूर्वनै हस्पिटेक कम्पनीका मालिक र स्वास्थ्य क्षेत्रका कुख्यात ब्यापारी विशाल पण्डितको उपकरण खरिद गर्ने प्रकारको स्पेसिफिकेसन बनाउने र खरिद गर्ने गरिन्छ । अनियमित तरिकाले दबाब दिएर उपकरण खरिदमा सहि गर्दा–गर्दा आजित भएर निर्देशक डा. अरविन्द सिन्हाले २ महिना पहिले कांग्रेस नेता बिमलेन्द्र निधिलाई भेटेर सविस्तार उपकुलपति बिरुद्ध उजुरी गरेका छन् । खास गरि करोडौंमा खरिद भएका र ठुलो आर्थिक चलखेल भएको भेन्टिलेटर खरिदमा आफ्नो भाग रजिष्ट्रार श्रेष्ठले चट् पारेकोले शिन्हा आगो भएका छन् ।
प्रतिष्ठानमा दुर्घटनामा परेर ल्याईएका अत्याधिक घाईतेलाई भारतको सिलगुढि कुदाउनु पर्ने बाध्यता अझै पनि कायमै छ । तर, प्रतिष्ठानले त्यस्ता उपचार घरहरु बनाउनुको सट्टा प्रतिष्ठान भित्रै एकतारे सुविधा सहितको ‘पेयीङ गेष्ट हाउस’ बनाउन फाइदा ठान्यो । गत वर्ष दश करोड खर्च गरेर बनाईएको सो गेष्ट हाउसले आम्दानी दिनु त परै जाओस्, त्यहाँका ठुला कर्मचारी, स्थानिय डन र राजनीतिक पार्टिका मानिसहरुको ‘मस्ती’ गर्ने थलो बनेको छ । आफुले भनेको मान्ने डाक्टरहरुलाई बिभिन्न सुविधा दिएर राख्ने तर, अलिकति पनि चाकडि बजाउन नसक्ने डाक्टरहरुलाई दुखः दिने नीति भएका कारण प्रतिष्ठानका बरिष्ठ डाक्टरहरुले प्रतिष्ठान छाडिसकेका कारण प्रतिष्ठान प्रति आम जनताको विश्वास टुट्न थालेको छ ।
उपकुलपतिको आम्दानी महिनाको २ करोड
‘विराटनगर तीनटोलीयामा ३ तले घर: न्युरो अस्पताललाई भाडामा’
साधारणतया एउटा स्वास्थ्य प्रतिष्ठानको उपकुलपतिले महिनामा कति कमाउला ? १ लाख, २ लाख ? तर वीपी प्रतिष्ठानको उपकुलपतिको कमाई बारे तपाईको अनुमान गलत हुन सक्छ ! ५ वर्ष उपकूलपति भएर यहि आउँदो डिसेम्वर देखि बिदा लिन लागेका डा. दासले प्रति महिना २ करोड कमाउने गरेको श्रोतको दावि छ । यसै साउन महिनामा मात्र उनले १० करोड कमाएका छन् । पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारको कृपापात्र दासले उनका पार्टिका नेता रामजनम चौधरी स्वास्थ्य मन्त्री भएको वेला ४०० शैयाको मातृशिशु अस्पताल बनाउन २ अर्व १८ करोडको ठेक्का लगाए । जुन ठेक्का लगाउन सेटिङ मिलाएर रसुवा र शर्मा कन्स्ट्रक्सनलाई दिँदा १० प्रतिशत कमिशन स्वरुप उनले २२ करोड हात पारेका छन् । ति मध्ये २ करोड गच्छदारलाई, २ करोड रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र अधिकृतहरु र केहि करोड अख्तियारका आयुक्तलाई समेत बाँडेर बाँकि रहेको सबै आफ्नै पोल्टामा राख्न सफल भएका छन् । हालै केपी ओलीको सरकारले सामान खरीद गर्न प्रतिष्ठानलाई दिएको २० करोडबाट पनि झण्डै ४ करोड रुपैंया उपकूलपतिले हात पार्न सफल भएका छन् ।
सप्तरीको कन्चनपुरमा घर भई साधारण आर्थिक अवस्थामा बाँचेका उपकूलपति दास प्रतिष्ठानको अस्पताल निर्देशक र उपकुलपति भएपछि अथाह सम्पत्तिका मालिक भएका छन् । उनले आफनो सम्पत्तिबाट धरान–१८ स्थित दिपक राईको आवर होम बिद्यालय भएको घरजग्गा २ करोडमा खरिद गरेका छन् । आफनो नाममा राख्दा अप्ठारो पर्छ भनेर उनले सुरुमा सो घर ‘झा’ थरका एकजना आफनै भान्सेको नाममा राखेका थिए । भने, हाल अर्कै मानिसको नाममा नामसारी गरेर ‘मैले घर बेचिसकें’ भनेर नजिकका मान्छेहरुलाई भन्ने गरेका छन् । सो घर जग्गामा प्रतिष्ठानको केटिएम सेक्युरिटी कम्पनीलाई प्रतिमहिना ७० हजारमा भाडामा राखिएको छ । प्रतिष्ठानको सेक्युरिटीमा ठेक्का पाउने कम्पनीले आफनो घरमा भाडामा बस्नु पर्ने पहिलो शर्त डा. दासले राख्ने गरेको केटिएमका कर्मचारीहरु बताउँछन् । स्मरण रहोस, केटिएमका मालिक रामेश्वर शाह डा. दासको गाउँले साथी भएको कारण उनले सवै नियमलाई तोडमोड गरेर ठेक्का दिलाएका थिए ।
यसै गरी दासले वीपी कै कमिशनबाट विराटनगर तीनटोलीयामा ३ तले घर किनेर न्युरो अस्पताललाई भाडामा लगाएका छन् । काठमाडौं, भारतको वेंङ्लोर नोएडामा पनि दासले घर किनेको दासका पारिवारिक सुत्रले जानकारी दिएको छ । उनले आफनो कन्चनपुरको फुसको घरलाई पनि उपकुलपति भएपछि मार्वल लगाएर भव्य बनाएका छन् । सो घरमा प्रतिष्ठान भित्रको होष्टलहरुमा प्रयोग भएका सबै मार्वल, ईट्टा, फर्निचरहरु प्रयोग गरिएको श्रोतको दावि छ ।
यसै महिना शान्ती तथा पुनस्र्थापना मन्त्रालयको पैसाबाट जापानको भ्रमण गरेर फर्किएका दास र रजिष्ट्रारले प्रतिष्ठानबाट पनि ४ लाख निकासा गरेको कर्मचारी सुत्रले जानकारी गराएका छन् । यसै गरी प्रतिष्ठानका भीसी, रजिष्ट्रार र अस्पताल निर्देशकको बंगलामा सरसफाई ठेकदार गोपाल श्रेष्ठका १५ जना कर्मचारीहरु खटाएका छन् । प्रतिष्ठान हाताको सरसफाइमा खटिनु पर्ने कर्मचारीलाई उनले आफनो घरको ‘नोकर’ बनाएर राखेका छन् भने, त्यसको भुक्तानी ठेकदारले सरसफाई कर्मचारीको कोटाबाट लिने गरेको ति कर्मचारीहरु बताउँछन् । रजिष्ट्रारका नातेदार गोपाल श्रेष्ठले समेत ९७ जना सफाई कर्मचारी राख्नु पर्नेमा ५५ जना राखेर बाँकि पैसा रजिष्ट्रारसँग मिलेर बजाउने गरेका छन् ।
श्रीमती दासको अवैध कमाउ धन्धा
‘अनुमति बिना साट्न नपाइने भारु एकै विद्यार्थीको ६० लाखसम्म साटिन्छ’

उपकुलपति दासले आफु कुर्सीमा बसेकै बर्ष प्रतिष्ठान भित्र एनआईसी बैकसँग नजराना लिएर शाखा खोल्न अनुमति दिएका थिए । तर, सो शाखाको इन्चार्जमा आफ्नी श्रीमती पुनम दासलाई बनाउने शर्तमा । सोहि शर्त अनुसार पुनम दास एनआईसी बैंकको प्रतिष्ठान शाखाकी इन्चार्ज छिन् । उनले प्रतिष्ठानमा पढ्न आउने हरेक भारतीय बिद्यार्थीहरुलाई भारु सटहि गरिदिने गरेकि छन् । सो बापत उनले बैंकबाट राम्रो कमिशन प्राप्त गर्ने गरेको बताईन्छ । नेपाल बैंकको अनुमति बिना साट्न नपाइने भारु एकै विद्यार्थीको ६० लाखसम्म अवैधरुपमा साट्ने गरेको भारतीय बिद्यार्थीहरुले बताउने गरेका छन् । अहिले प्रतिष्ठान भित्र पढ्न आउने भारतीय विद्यार्थीहरुले गेष्टहाउस भरीभराउ भएको छ । उनीहरु सबै उपकुलपति दासको विहारी ससुराले पठाएको र आफुहरुले पुनम दासबाटै भारु साट्ने गरेको बताउँछन् ।
फेरी भीसी बन्ने कसरतमा डा. दास
आउँदो डिसेम्बर महिनामा आफनो चार वर्षे कार्यकाल पुरा हुने भएपछि पुनः सोहि पदमा बस्नको लागि उपकुलपति दास यति बेला ‘साम दाम दण्ड भेद’ प्रयोग गरिरहेका छन् । जसको लागि उनले नव नियुक्त स्वास्थ्य मन्त्री गगन थापालाई रिझाउन सपथ ग्रहण गरेकै दिन विभिन्न राष्ट्रिय दैनिकहरुमा ‘बधाई तथा शुभकामना’ विज्ञापन दिएर प्रतिष्ठानको २ लाख रुपैंया उडाएका छन् । सोहि प्रतिष्ठानका कुलपति नव नियुक्त प्रधानमन्त्री ‘पुष्पकमल दाहाल’लाई भने उनले कुनै शुभकामना दिएनन् । यस कुरालाई लिएर धरानका नेकपा माओवादि केन्द्रका कार्यकर्ताले उपकुलपति दासको चाकडि गर्ने गलत प्रवृत्तिको विरोध जनाएका छन् । चार वर्षअघि पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई २ करोड नजराना चढाएर उपकुलपति बनेका दासले यसपटक पनि प्रधानमन्त्रीका छोरा तथा स्वकिय सचिव प्रकाश दाहाल मार्फत नजराना चढाएर पुनः उपकुलपति बन्ने दौडधुपमा लागि परेको उनका निकट कर्मचारीहरु बताउँछन् । तर, पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानकी पुर्वउपकुलपति डा. संगीता भण्डारीले उपकुलपति र रजिष्ट्रारको पी.जी. परीक्षाको घोटाला सार्वजनिक गरेर दासको दाँतमा ढुंगा अड्काउन सफल भएकी छन् ।












