२३ असोज, काठमाडौं । विश्वकै सार्वजनिक यातायातमा नयाँ क्रान्ति ल्याउने उद्देश्यसहित स्विजरल्याण्डको जेनेभामा नयाँ बस संचालनमा सुरु भएको छ । विजुलीबाट चल्ने टोसा नामको नयाँ बस केवल ५ सकेन्ड चार्ज गर्दा दुई किलोमिटर गुड्नेछ । पाँच मिनेटमा फुल चार्ज नै हुने जनाइएको छ । अहिले फ्रान्स लगायतका देशमा समेत यो बस संचालन गर्ने विषयमा गृहकार्यहरु भैरहेका छन् । जेनेभामा यो बस संचालनको गृहकार्य भने सन् २०१३ मै भएको थियो ।
१४३ यात्रु क्षमता रहेको यो बस सहरीमा संचालनका लागि उपयुक्त मानिएको छ । वायु प्रदूषण कम गर्न सहयोग पुग्ने भएकोले नेपाल जस्तो पेट्रोलियम आयातमा निर्भर देशमा यो बस भित्र्याउन सके ठूलो वित्तिय राहत समेत दिनसक्ने छ । सहरी सार्वजनिक यातायातको तस्वीर नै यो बसले बदल्दिने अपेक्षा गरिएको छ.
जेनेभाका पब्लिक ट्रान्सपोर्टसँग सम्बन्धित केहि संस्थाले मिलेर यो बस आयोजना सुरु गरेका हुन् । झट्ट हेर्दा नै यो बस बिजुलीबाट चल्ने भनेर चिन्न सकिने गरि डिजाइन गरिएको छ ।

टर्मिनलमा चार देखि पाँच मिनेट चार्ज गरेपछि बस फुलचार्ज हुनेछ. त्यसपछि आरामले ४० किलोमिटर भन्दा बढी यो बस गुड्न सक्छ । चार्ज सकिए पछि टर्मिनलमा यात्रु कुर्दा कुर्दै बस पूर्ण रुपले चार्ज भइ सक्ने जनाइएको छ ।

सन् २०१७ सम्ममा जेनेभाका सबै दुई सय २९ रुटमा यो बिद्युतिय बसले पुरानो डिजेल बसलाई विस्थापित गर्ने जनाइएको छ । त्यसपछि जेनेभामा बार्षिक एक हजार टन कार्बनडाइ अक्साइड उत्सर्जन कम हुने अनुमान गरिएको छ ।












