२२ असोज, काठमाडौं । लेखक खगेन्द्र संग्रौलाबाट ‘ढोडको लौरो’ उपाधि पाएका एमाले नेता झलनाथ खनालले आफूहरुसँग सरकारले वार्ता नगरेको भन्दै दुखेसो पोखेका छन् । एमाले अध्यक्ष ओलीविरुद्ध समानान्तर गतिविधि गर्दै शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा खनालले ओलीलाई झट्का दिँदै सरकारको आलोचना गरे ।
काठमाडौं महानगरपालिका वडा नं. १५ मा एमालेको शाखा कमिटीले शुक्रबार पार्टी अध्यक्ष केपी ओलीको सहभागितामा चियापान कार्यक्रम गरेपछि खनालले पनि शुक्रबार आफ्नो गुटका मान्छेहरुको सहभागितामा चियापान कार्यक्रम गरे । ओलीविरुद्ध समानान्तर कार्यक्रम गरे पनि खनालले ओलीको आलोचना गरेनन् । उनले प्रचण्ड सरकारप्रति आक्रोस पोखेर ओलीको विरोध नगरेको देखाउन खोजे । तर वास्तवमा शुक्रबार ओलीको उपस्थितिमा भएको चियापानको विरोधमा खनालले शनिबार पार्टीकै केही कार्यकर्ताको संलग्नतामा कार्यक्रम गरेका हुन् ।
कार्यक्रममा बोल्दै खनालले सरकार र मधेसी मोर्चाबीच भैरहेको वार्ताको विरोध गरे । तीन तहको निर्वाचन, संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने ऐन कानुन निर्माणमा सहमति जुटाउनका लागि प्रमुख प्रतिपक्षी दलसँग वार्ता र छलफल गर्नुपर्नेमा त्यसो नगरी उल्लेख सरकारले मधेसी मोर्चासँग वार्ता गरेकोप्रति आपत्ति जनाए ।
प्रतिपक्षीको भुमिकालाई नजरअन्दाज गरेको तर्क गर्दै खनालले मधेसी मोर्चासँग मात्रै वार्ता गरेर प्रमुख प्रतिपक्षी दलको भूमिकालाई उपेक्षित गरेको आरोप लगाए ।
खनालको यस्तो कार्यले एक तीरबाट दुई सिकार गर्न खोजेको स्पष्ट देखिएको छ । अर्थात् उनले एउटै कार्यक्रमबाट आफ्नै दलका अध्यक्ष ओली र सरकारलाई वाण हानेका छन् ।












