स्याङ्जाको प्रसिद्ध बजार वालिङको उत्तरतर्फ रहेको गाउँ काफलडाँडाका बालकृष्ण बाल्यकालमै भारत भासिएका थिए । भारतमा छोटो समयमै खर्बपति बनेका बालकृष्ण ४४ वर्षको उमेरमा भारतकै ४८ औँ धनी बनेका छन् । सवा अर्बभन्दा बढी जनसंख्या रहेको भारतको ४८ औँ धनी व्यक्तिमा नेपाली मूलका बालकृष्ण परेपछि अहिले विश्वभर उनी चर्चाको विषय बनिरहेका छन् । बालकृष्णले अवैध तरिकाबाट सम्पत्ति आर्जन गरेको, उनको नागरिकता तथा प्रमाणपत्र फर्जी रहेको भन्दै छानविनका लागि उनलाई चारवर्षअघि केही दिन थुनामा समेत राखिएको थियो । प्रसिद्ध योगगुरु रामदेवले योग सभामा राजनीतिक भाषणवाजी गरेपछि रामदेवसहित बालकृष्ण पनि छानविनमा तानिएका थिए । तर सन् २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि रामदेव र बालकृष्णमाथि चलेको छानविन स्थगित गरिएको छ ।
१० वर्षअघि स्थापित पंतजलि आयुर्वेद लिमिटेडको ९७ प्रतिशत स्वामित्व आचार्य बालकृष्णको रहेको छ । दश वर्षभित्रै खर्बपति बनेकोप्रति भारतीयहरुले बालकृष्णप्रति नकारात्मक दृष्टि राख्ने गरेका छन् । भारत तथा विश्वभर पतञ्जलिका औषधिजन्य उत्पादन तथा दैनिक उपभोग्य सामाग्रीको विक्री उच्च छ । बालकृष्ण पतंजलि आयुर्वेद लिमिटेडका प्रबन्ध निर्देशक हुन् । बाबा रामदेवलाई उचाइमा पुर्याउने कार्य पनि बालकृष्णकै रहेको छ ।
विश्वभरका अर्बपतिको सूची तयार पार्ने प्रतिष्ठित अन्तर्राष्ट्रिय पत्रिका फोर्ब्सले हालै मात्र बालकृष्ण साढे दुई खर्ब रुपैयाँका मालिक भएको सार्वजनिक गरेको छ । फोर्ब्सले नै बालकृष्णलाई भारतको ४८ औँ धनीमा उनलाई सूचीकृत गरेको हो ।
त्यसअघि चीनमा मुख्यालय रहेको एउटा प्रतिष्ठित अनुसन्धान समूहले पतंजलिले आँधीबेहरी ल्याएको र दैनिक उपभोग्य सामाग्री उत्पादन गरिरहेका अरु बहुराष्ट्रिय कम्पनीहरुको व्यापार सुकाइदिएको निष्कर्ष निकालेको थियो ।
पतञ्जलिले झण्डै ३५० थरीका सौन्दर्य, आयुर्वेद र दैनिक उपभोग्य सामाग्री उत्पादन गरेको छ । गुरुकुलमा एक साथ अध्ययन गरेका दुई साथी रामदेव र बालकृष्ण मिलेर यो कम्पनीको स्थापना गरेका हुन् । यसको सबै व्यवस्थापन बालकृष्णले हेर्दछन् भने व्यवसाय विस्तार र प्रवर्द्धनमा रामदेवले भूमिका खेलिरहेका छन् । रामदेवको योग र आचार्य बालकृष्णले आयुर्वेदमा गरेको निरन्तर मिहिनेतले अहिले पतञ्जलि विश्वकै लागि प्रसिद्ध कम्पनी बनेको छ भने उनीहरु भारतकै धनीको पक्तिमा पुगेका छन् । स्याङ्जाबाट खाली हात निस्किएका बालकृष्ण भारतकै ४८ औं धनी बन्नुलाई आश्चर्यजनक मानिँदै आएको छ ।
खर्बपति बालकृष्णको जीवनशैली भने सामान्य छ । पतञ्जलिले संचालन गरेको अस्पतालमा आफ्नो कार्यालय राखेका बालकृष्ण सधैं सादगी भेषमा सेतो कमिज लगाएर बस्दछन् । उनी कुनै दिन विदा लिँदैनन् । उनको कार्यालयमा कम्युटर छैन तर कम्युटरमा गर्नुपर्ने काम अन्य कर्मचारीले गरिदिन्छन् । हाल पतञ्जलिमा झण्डै ११ हजार मानिस कार्यरत छन् । रामदेव र बालकृष्णले भने पतञ्जलिमा काम गरेवापत तलब लिँदैनन् । संचार सम्पर्कका लागि बालकृष्णले मोबाइल भने बोक्ने गर्दछन् ।
रामदेवप्रति भारतले छानविनको निगरानी गरेका कारण पनि उनले आफ्नो स्वामित्वमा पतञ्जलि नराखेको बुझिन्छ । बालकृष्णले पनि पतञ्जलिको सम्पति आफ्नो व्यक्तिगत सम्पत्ति नभएको बताउँदै आएका छन् ।
प्रेरणाको स्रोत आमा
स्याङ्जाको गाउँकै स्कुलमा ५ कक्षा पढेपछि भारत पसेका बालकृष्णले सन् १९८८ मा हरियाणाको खानपुरमा गुरुकुलमा अध्ययन गर्दा रामदेवलाई भेटेपछि दुवैबीच मित्रता बढेको थियो । बालकृष्णका आमाबुवा अहिले पनि गाउँमा खेतीपाती गरेर जिविकोपार्जन गरेका छन् भने घर पनि सामान्य खालको छ ।
बालकृष्णले आयुर्वेदसम्बन्धि आफ्नो प्रेरणाको स्रोत आमालाई ठान्दछन् । सानो छँदा गाउँमा आफ्नी आमाबाट जडीबुटीसम्बन्धी ज्ञान पाएको बताउँछन् । आमाले देखाएको त्यही बाटोबाट आफू यहाँ आइपुगेको उनको विश्वास छ ।
हाल आफूले झण्डै ६५ हजार प्रकृतिका जडीबुटीका बारेमा काम गरिरहेको बालकृष्ण बताउँछन् । आयुर्वेदसम्बन्धी उनले लेखेको ‘औषध दर्शन’ नामक पुस्तक एक करोड प्रतिभन्दा बढी विक्री भैसकेको छ । पतंजलिले आचार्य बालकृष्णको जन्मदिनलाई जडीबुटी दिवसका रुपमा मनाउँदै आएको छ ।
नेपालप्रति आफ्नो भावनात्मक लगाव भएको बताउने बालकृष्ण नेपालका लागि एउटा केही ठूलो काम गर्ने ईच्छा राखेको बताउँछन् ।
आरोपको खण्डन
विगतको कांग्रेस आई नेतृत्वको सरकारले ‘योजनाबद्ध षड्यन्त्र’ गरी आफूविरुद्ध अवैध सम्पत्ति र नागरिकता तथा शैक्षिक प्रमाणपत्रबारेको अभियोग लगाएको बालकृष्णले दावी गर्दै आएका छन् । उनको भारतीय नागरिकता र राहदानी अनि शैक्षिक प्रमाणपत्रसम्बन्धी विवाद केन्द्रीय जाँच ब्यूरो सिबिआइले जाँचबुझ गरेपछि उनी केही केही समय भूमिगत समेत भएका थिए । सिबीआईले आफूविरुद्ध दायर गरेको मुद्दा झूठो भएको र सम्पूर्णानन्द विश्वविद्यालयका प्रमाणपत्रहरु आफूसँग सुरक्षित रहेको उनको दावी छ ।
आफ्नो पुख्र्यौली थलो नेपालमा भए पनि आफ्नो जन्म भारतमै भएको दावी उनले गर्दै आएका छन् । आफ्ना मातापिता मजदुरीको सिलसिलामा भारतमा रहँदा हरिद्वारमा आफू जन्मिएको उनले बताउँदै आएका छन् । बाल्यकालमा केही समय मात्र नेपाल बसेको बताउने बालकृष्ण नेपाली भाषा भने त्यति जान्दैनन् ।
















