२१ असोज, काठमाडौं । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले साना दललाई सिद्याउने उद्देश्य स्वरुप निर्वाचन प्रणालीको व्यवस्था गर्ने निर्णय गरेको छ । स्थिर सरकार नहुने र साना दलका कारण समस्या आएको ठहर गर्दै कांग्रेसले समानुपातिकका माध्यमबाट शक्तिमा आएका साना दललाई सखाप पार्नेसहितको नयाँ निर्णय गरेको हो । समानुपातिकबाट एक सिट ल्याउने दलले समेत ठूला दलसँग वार्गेनिङ गरी मन्त्री खाइरहने भएकाले कांग्रेसले यसलाई रोक्ने उद्देश्यसहित ती दललाई सिद्याउने योजना बनाएको हो ।
कांग्रेस संसदीय कार्यसमितिले राजनीतिक दलसम्बन्धी विधेयकमा थ्रेसहोल्डका लागि संशोधन प्रस्ताव पेस गर्ने भएको हो । कार्यसमितिको आज सिंहदरबारमा सम्पन्न बैठकले समानुपातिकतर्फ तीन प्रतिशत थ्रेसहोल्ड राख्न दलको तर्फबाट संशोधन प्रस्ताव दर्ता गरिने बैठकमा सहभागी नेताहरुले जानकारी दिएका छन् । बैठकमा व्यवस्थापिका–संसद्मा प्रस्तुत निर्वाचन र राजनीतिक दलसम्बन्धी विधेयकको मस्यौदामाथि आन्तरिक छलफल भएको थियो। उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले असोज १८ गतेको व्यवस्थापिका–संसद्को बैठकमा निर्वाचनसम्बन्धी विधेयकहरू सदनमा प्रस्तुत गरेका थिए ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि, केन्द्रीय सदस्य प्रकाशमान सिंह, केन्द्रीय सदस्य एवम् रक्षामन्त्री बालकृष्ण खाँण, अर्का केन्द्रीय सदस्य एवम् परराष्ट्र मन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु डा मीनेन्द्र रिजाल, डा रामशरण महतलगायतको सहभागी थिए ।
कांग्रेसको यो प्रस्ताव पारित भएमा क्रिश्चियनको रकममा पार्टी खोलेर समानुपातिकमा एक वा दुई स्थान जितेका नेपाल परिवार दलका एकनाथ ढकाललगायतलाई समस्या पर्ने छ । पहिलो संविधान सभामा एक सिट समानुपातिकमा जितेर पनि प्रमुख सत्तारुढ दललाई मोटो रकम बुझाएर ढकाल मन्त्री बनेका थिए । दोस्रो संविधान सभामा पनि उनको यही प्रक्रिया दोहोरिएको थियो । यो निर्णयले विभिन्न टुक्रामा विभाजित मधेसकेन्द्रित दललाई एकतामा आउन दवाव समेत पर्ने छ ।












