२१ असोज, काठमाडौं । दशैंमा सवारी साधन र यात्रुको चापका कारण दुर्घटना बढेसँगै ज्यान गुमाउनेको सख्ंयामा समेत वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा देशभर ११ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । दशैंको समयमा यातायातका साधनको तीव्र चाप भएसँग दुर्घटना बढेको हो । यात्रुका कारण सडकमा सवारी चाप बढेसँगै दुर्घटना पनि बढेको प्रहरीको दुर्घटना विवरणमा उल्लेख छ ।
नवलपरासी रामग्राम नगरपालिका–१२ स्थित परासी–भुमहीको भित्रि सडक खण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बा.६ च ४८१५ नम्बरको टाटा सुमोले लु.२६ प ६९२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुनवल नगरपालिका–४ बस्ने २७ वर्षीय बिजय थापा र जिल्ला कारागार नवलपरासीमा कार्यरत प्रहरी जवान गनबहादुर थापाको मृत्यु भएको छ । दुर्घटनामा विजय थापाको घटनास्थलमै र गनबहादुर थापाको भैरहवा मेडीकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । टाटा सुमो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन चण्डिभञ्ज्यङ–६ पाँचकिलो स्थित मुग्लिन–नारायाणगढ सडक खण्डमा एक ट्रक त्रिशुली नदीमा खस्दा चालकको मृत्यु भएको छ । ना.४ ख ८५५२ नम्बरको ट्रक शुक्रबार अनियन्त्रित भई सडकबाट अंदाजी ८० मिटर तल त्रिशुली नदीको किनारमा खसेको थियो । दुर्घटनामा ट्रक चालक जुगेडी –२ बस्ने २५ बर्षीय विकाश गुरुङको मृत्यु भएको छ । सह–चालक चितवन जुगेडी–९ बस्ने २६ बर्षीय चार्लस गुरुङ गम्भीर घाइते छन् ।
काठमाडौँ महानगरपालिका–१४ कलंकी चोकमा ना.५ ख २०६१ नम्बरको बसले बा.३२ प २४३६ नम्बरको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिँदा मोटरसाइकल चालक मकवानपुर फापरबारी घर भई हाल नैकाप तिनथाना बस्ने ४३ बर्षीय रत्न बहादुर राईको निधन भएको छ। पर्सा घर भएका २६ बर्षीय धर्मेन्द्र साह घाइते छन्।
सल्यानको शारादा नगरपालिका–६ स्थित बराला मदनकाँडा कच्ची सडक खण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लु. १ ज २९३४ नम्बरको जिप शुक्रबार सडकबाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना हुदाँ जीप चालक सल्यान हिवाला–४ बस्ने ३२ बर्षीय घनश्याम थापाको घट्नास्थलमै मृत्यु भएको हो ।
तनहुँ शुक्ला गण्डकी नगरपालिका–३ दुलैगौडा बजार स्थित पृथ्वीराजमार्गमा ग.११ प १४७ नम्बरको मोटरसाइकलले पैदल यात्री सोही नगरपालिका–१३ मालेबगर बस्ने ८० वर्षीय देबेन्द्र मल्ललाई बिहीबार ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
बाँके कचनापुर–१ अगैयामा ना.५ ख ५२३५ नम्बरको बसले रा.२ प ७७२६ नम्बरको मोटरसाइकललाई बिहीबार ठक्कर दिँदा मोटरसाइकल चालक सल्यान काराघाती–३ बस्ने ३७ बर्षीय खिम बहादुर घर्तीको मृत्यु भएको छ ।
त्यस्तै चितवन राप्ती नगरपालिका–६ हर्दिचोकमा ना.२ ख ६७४० नम्बरको ट्रकले ना.४० प ७०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।सोही नगरपालिका–९ बिरेन्द्रनगर बस्ने मोटरसाइकल चालक १९ बर्षीय सुनिल गुरुङको मृत्यु भएको हो । दुर्घटनामा १७ बर्षीय सुजित गुरुङ घाइते छन्।
उदयपुर खाँबु–२ छाम्लीङमा स.१ त ४०६७ नम्बरको ट्याक्टर सडकबाट तल खस्दा ट्याक्टरका साहु त्रियुगा नगरपालिका बस्ने ५२ बर्षीय तेजबहादुर गजमेरको घटनास्थलमै मृत्यु भएको छ।
धादिङ तसर्पु–८ काम्राङ स्थित ग्रामिण सडकमा बा.५ च ६२४८ नम्बरको डिआई बलेरो गाडी बिहीबार सडकबाट ४० मिटर तल खसेर दुर्घटना हुँदा सोही ठाउँ बस्ने ३८ वर्षीया निशा थापाको घटनास्थलमै मृत्यु भएको छ।
त्यस्तै बर्दिया बासगढ़ी नगरपालिका–४ लाखाना चोक नजिकै नम्बर नखुलेको सवारी साधनले बिहीबार खल्ला गाँउ बस्ने १० बर्षीय प्रकाश सिंह ठकुरीलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ ।












