१८ असोज, काठमाडौं ।सत्तारुढ दलकै सांसदहरुले संविधान संशोधनको प्रक्रिया अघि नबढाएको प्रति आपत्ति जनाएका छन् ।
व्यवस्थापिका–संसदको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद रामअयोध्या यादवले संविधान संशोधनको प्रक्रिया अघि नबढाएको प्रति आपत्ति जनाए । उनले दशै अगाडि नै संशोधनको प्रक्रिया बढाउने सरकारले प्रतिबद्धता जनाए पनि प्रक्रिया किन नबढाएको भन्दै सरकारलाई प्रश्न गरे ।
कहिले दशैं अघि त कहिले तिहारपछि संशोधनको प्रक्रिया अघि बढाउने भनी सरकारले झुक्याउन खोजेको आरोप उहाँले लगाए । चाँडै संविधान संशोधन प्रस्ताव आउनुपर्ने भन्दै उहाँले सीमांकनको टुंगो नलागेसम्म स्थानीय तहको निर्वाचनमा जान समस्या हुने बताए ।
यस्तै फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले संविधान संशोधनको प्रक्रिया सरकारले अघि बढाउन ध्यान नदिएको आरोप लगाए ।
उनले थारु र मधेसी जनताका माग सम्बोधनका लागि संविधान संशोधनको प्रक्रिया अघि बढाउने सरकारले प्रतिबद्धता जनाए पनि अहिलेसम्म प्रक्रिया अघि नबढ्नुले आशंका उब्जाएको दावी गरे ।
सांसद अकवाल अहमद साहले सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको तीनबुँदे समझदारीको कार्यान्वयन हुन नसक्नुुको कारण सरकारले दिनु पर्ने बताए । सरकार गठनका बेला मधेसी दल र सरकारबीच भएका सहमति कार्यान्यन गर्न प्रधानमन्त्री नै गम्भीर नदेखिएको आरोप उनले लगाए ।
फोरम लोकतान्त्रिक सांसद गंगा चौधरीले तराई–मधेस, थारु, आदिवासी जनजातिको माग सम्बोधनका लागि संविधान संशोधनको प्रक्रिया अघि बढाउन माग गरे । उनले इलाकालाई आधार मानेर स्थानीय निकायको पुनःसंरचना गर्ने प्रमुख तीन दलको निर्णयप्रति आपत्ति जनाए ।












