१८ असोज, काठमाडौं । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपाल भारत संयुक्त विज्ञप्तीमा राष्ट्रियता र राष्ट्रिय स्वार्थमा आँच आएको भनेर पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतका केही व्यक्तिले नक्कली राष्ट्रवादको हल्ला फिँजाएको आरोप लगाएका छन् । मंगलबार काठमाडौमा आयोजित साक्षात्कारमा मन्त्री महतले प्रधानमन्त्रीको भारत भ्रमणको बेलामा जारी भएको २५ बुँदे संयुक्त विज्ञप्तीलाई लिएर बाबुराम भट्टराई लगायत सरकार बाहिर रहेका दलहरुले नक्कली राष्ट्रवाद देखाएर विरोध गरेको आरोप लगाएका हुन् । मन्त्री महतले कुनै विवाद नै नभएको विषयलाई विवादित बनाउने, प्रोपागाण्डा बनाउने र जनतामा भ्रम पैदा गर्ने कुराले राष्ट्रिय स्वार्थ पूरा नहुने जिकिर गरे । मन्त्री महतले जनताको भावनामा खेल्नको लागि हुँदै नभएको कुराको आरोप लगाइएको प्रति कडा आक्रोश पोख्दै एउटा बुँदा पनि राष्ट्रिय स्वार्थको विरुद्धमा नरहेको दावी गरे । मन्त्री महतले दलहरुवीच आन्तरिक विषयमा वादविवाद र बहस भए पनि परराष्ट्र नीतिमा एकरुपता हुनुपर्नेमा जोड दिए ।
मन्त्री महतले भारतीय राष्ट्रपतिको नेपाल भ्रमण तय भैसकेकोले आफूहरु उनलाई स्वागत गर्न आतुर रहेको बताए । त्यस्तै चीनका राष्ट्रपतिको पनि नेपाल भ्रमण हुनेमा आफूहरु विश्वस्त रहेको उनले उल्लेख गरे ।












