धर्मराज कठायत
१८ असोज, कञ्चनपुर । कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिकाको बैतडा, बगुन र जडेपानी क्षेत्रमा हात्तीले आतंक सृजना गरेको छ । झण्डै २ दर्जन भन्दा बढीको संख्यामा सोमबार बेलुकी देखि यो वस्तीमा प्रवेश गरेका हात्तीहरुले तीन वटा घर भत्काउनका साथै ठूलो मात्रामा धानबाली नोक्सान गरेका छन् । हात्तीको वथानले घर भत्काएसँगै घरभित्रको खाद्यान्न र बन्दोबस्तीका समान समेत नष्ट गरेको छ ।
गाउँमा हात्ती पसेर आतंक सृजना गरेपछि वेदकोट नगरपालिकामा रहेको प्रहरी चौकीबाट प्रहरीको टोली सो क्षेत्रमा परिचालन गरिएको छ । हात्तीले धानबाली नोक्सान गर्नुका साथै घरहरु भत्काउन थालेपछि सो क्षेत्रका जनताले सुरक्षाका लागि सरकारलाइ अपिल गरेका छन् । आफूहरुको धनजनको क्षति हुन नदिन २४ घण्टा नै सुरक्षा प्रदान गरिदिन समेत उनीहरुले सरकारसँग माग गरेका छन् ।
गाउँ नजिकैको जंगलमा हात्ती रहेका कारण फेरि फर्केर आउने डरले स्थानीयवासी चिन्तित रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक तुलसीप्रसाद अधिकारीले भने जनताको सुरक्षाका लागि जिल्ला प्रहरी कार्याालयले टोली खटाएको भन्दै हात्ती भगाउनका लागि पटाका पटकाउनेदेखि लिएर अन्य उपायहरु अपनाइरहेको बताए । आज मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय र जिल्ला वन कार्याालयको टिमले सो क्षेत्रको अवलोकन गरेर हात्तीबाट बचावका उपायका बारेमा जनतासँग अन्तरक्रिया गरेको छ ।
हात्ती आतंकपछि स्थानीयहरु रातभर आगो बालेर जग्राम बस्न बाध्य छन । गएको १५ गते देखि नै जंगली हात्तीले यो क्षेत्रमा आतंक सृजना गरिरहेको स्थानीयहरुको भनाइ छ ।












