१७ असोज, काठमाडौं । सरकारले दशैंका समयका लागि यात्रुहरुलाई निःशूल्क वस व्यवस्था गरेको छ । दशैंका समयमा सार्वजनिक यातायातको अभाव हुने भएकोले सरकारले नै यात्रुहरुका लागि निशूल्क यातायातको व्यवस्था गर्ने निर्णय गरेको हो । सरकारले काठमाडौं उपत्यकामा दशैँको तीन दिन निःशूल्क यातायात सुविधा दिने भएको हो ।
यसका लागि सरकारले २५ वटा सरकारी बस सञ्चालनमा ल्याउने भएको छ। दशैँको नवमी, टीकाको दिन र एकादशीका दिनमा उपत्यकाका यात्रुलाई लक्षित गर्दै बस चलाउने निर्णय गरेको हो। चक्रपथ रुटमा चल्ने २५ बसमा यात्रुले भाडा तिर्न नपर्ने जनाइएको छ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मुख्य सचिव सोमलाल सुवेदीको अध्यक्षतामा सोमबार बसेको सचिवहरुको बैठकमा सरकारी कार्यालयका कर्मचारी बोक्न प्रयोग हुने बसलाई दशैँमा प्रयोगमा ल्याउने निर्णय भएको हो।
बैठकले सरकारी कार्यालयका ती बसहरुलाई चक्रपथमा गुडाउने निर्णय गरेको छ। दशैँका तीन दिनमा उपत्यकामा सवारी साधनको संख्या अत्याधिक कम हुने भएकाले उपत्यकाबासीलाई लक्षित गर्दै यस्तो निर्णय गरिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता दामोदर रेग्मीले जानकारी दिएका छन्।
तीन दिनका लागि चक्रपथमा गुडाउनका लागि २५ वटा बसको निश्चितता भैसकेको आवश्यकता परेमा पछि थप अरु दिन पनि सेवा दिनसक्ने निर्णय भएको प्रवक्ता रेग्मीले स्पष्ट पारे ।











