१७ असोज, काठमाडौं । प्रचण्ड सरकार भारततिर ढल्किएको विश्लेषण भारतले समेत प्रमाणित गरेको छ । चिनियाँ राष्ट्रपतिको तय भएको भ्रमणलाई बेवास्ता गर्दै भारतीय राष्ट्रपतिलाई नेपाल ल्याउने कसरतमा सरकार सफल भएको हो । यही कसरतस्वरुप भारतीय राष्ट्रपति प्रणव मुखर्जीले अगामी कातिक १७ देखि १९ अर्थात् नोभेम्वर २ देखि ४ सम्म नेपालको भ्रमण गर्ने तय भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा मुखर्जीले तीन दिने भ्रमण गर्न लागेका हुन् ।
लामो समयदेखि थाती रहेको मुखर्जीको भ्रमणको मिति तय भएलगातै दिल्लीस्थित नेपाली दूतावास र काठमाडौंमा परराष्ट्र मन्त्रालय तयारीमा जुटेको उच्च स्रोतले जानकारी दिएको छ । यसअघि नेपालकी राष्ट्रपति भण्डारीले भारत भ्रमण गर्ने र त्यसपछि भारतीय राष्ट्रपति मुखर्जीले भ्रमण गर्ने तय भए पनि भण्डारीको भ्रमण एक्कासी स्थगित भएको थियो । नेपालकी राष्ट्रपतिले भारतको भ्रमण नगरे पनि भारतीय राष्ट्रपति मुखर्जी नेपालको भ्रमण गर्न तयार भएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गरेर भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणको वातावरण बनाएका थिए ।
भारतीय राष्ट्रपतिको भ्रमण निश्चित भए पनि चिनियाँ राष्ट्रपतिको भ्रमण भने स्थगित भएको छ । असोजको अन्तिमतिर चिनियाँ राष्ट्रपतिलाई नेपालको भ्रमण गराउने तयारी केपी ओली नेतृत्वको सरकारले गरेको थियो । ओली सरकार ढलेपछि चिन असन्तुष्ट बन्दै आएको छ भने वर्तमान सरकार भारतलाई खुशी पार्ने अभियानमा लागेको छ । त्यसो त वर्तमान सरकार भारतकै योजनामा बनेको विश्लेषण हुँदै आएको छ ।












