१७ असोज, काठमाडौं । पुरुष र स्त्रीको सहमतिमा यौन सम्बन्ध कायम गर्न पाउने अधिकार नेपालको कानुनले दिए पनि प्रहरीले भने यसको विरुद्धमा कार्य गर्ने गरेको छ । सहमतिमा यौन सम्बन्ध कायम गरे पनि प्रहरीले छापा मार्दै दुवै पक्षको बेइज्जत गर्ने तथा अवैधानिक रुपमाले रकम असुली गर्ने गरेका विभिन्न घटना सार्वजनिक हुँदै आएका छन् । सर्वसाधारणले सहमतिमा कायम गर्ने यौन सम्बन्धमा हस्तक्षेप गरेर रकम असुल्दै आएका प्रहरी अधिकारी नै परस्त्री गमनमा लाग्ने गरेका तथ्यहरु खुलासा हुन थालेका छन् ।
परस्त्रीको कोठामा दाङका एक प्रहरी अधिकृत थुनिएको घटना बाहिर आएपछि क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले छानबिन समिति गठन गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक डीएसपी कृष्ण प्रसाईं परस्त्रीकाण्डमा मुछिएको घटना बाहिर आएपछि अञ्चल प्रहरी कार्यालय राप्तीका प्रहरी वरिष्ठ उपरीक्षक प्रेम चन्दको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको हो।
प्रहरी नायब महानिरीक्षक माधव नेपालको निर्देशनमा गठन गरिएको छानबिन टोलीको सदस्यमा अञ्चल प्रहरी कार्यालय राप्तीका प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्की र जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक विष्णु प्रदिप वस्याल रहेका छन् । छानबिन टोलीले ५ दिनभित्र प्रतिवेदन तयार पारेर क्षेत्रमा बुझाउने गरी जिम्मेवारी पाएको छ ।
अनुसन्धानका लागि गठन भएको छानबिन टोलीले विवादमा तानिएका प्रहरी नायब उपरीक्षक प्रसाई, उनलाई ताला फोडेर बाहिर निकाल्ने प्रहरी जवान, घटनाका प्रत्यक्षदर्शी, घटनामा मुछिएकी महिला र घरमालिकसँग सोधपुछ समेत गरेको प्रहरी उच्च स्रोतले बताएको छ ।
प्रहरी स्रोतका अनुसार प्रसाईंले ‘भान्जी’ गणित विषयमा कमजोर भएकाले सिकाउन जाने गरेको बयान दिएका छन् भने महिलाले तिहारमा टिका लगाउने दाइ भएको बताएकी छन् । उद्धारमा खटिएका प्रहरीले राति करिब ११ बजे कोठामा थुनिएकाले डीएसपी प्रसाईंलाई घरमा लगाएको ताला फोडेर बाहिर निकालेको बताएका छन् ।
नजिकको नाता पर्ने एक व्यक्तिले डीएसपी प्रसाई कोठामा पसेको मौका पारी ताला लगाइदिएका थिए । यता छानबिन समितिका संयोजक प्रहरी वरिष्ठ उपरीक्षक प्रेम चन्दले यो गम्भिर विषय भएकाले छानबिन टोली गठन गरेर अनुसन्धान सुरु गरिएको बताए ।
‘अनुसन्धान सुरु भएको छ, दोषी पाइएमा प्रहरी नियमावली अनुसार कार्बाही हुन्छ,’ चन्दले भने । उनका अनसार प्रहरीको प्रतिवेदन अन्तिम चरणमा पुगेको छ । प्रतिवेदन क्षेत्र हुँदै केन्द्रमा पठाइनेछ ।












